• मंसिर ११ २०८१, मंगलवार

आफ्नैपन बोकेर विकासको बाटो पछ्याउँदै धरान

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । धरान आफैमा लाहुरेहरूको सहर हो । यो सहर आफैमा निकै आकर्षक र पर्यटकीय छ पनि । तर पछिल्लो समयमा धरानको आफ्नोपन गुम्दै गइरहेको थियो ।

लाहुरेहरूले पनि धरान विरानोजस्तो मान्न थालेका थिए । यसको प्रत्यक्ष असर विदेश बस्ने लाहुरे र तिनका परिवारमा पनि पर्न थालेको थियो ।

धरानले एक समय आफ्नैपनमा विकास त गर्‍यो, तर त्यसको अर्को चरणमा नेतृत्व दिनसक्ने अगुवाको आवश्यकता थियो । आजका दिनमा त्यो आवश्यकता पूरा गर्न शायद स्थानीय निर्वाचनमार्फत् मेयर हर्क साम्पाङ आएका छन् ।

स्थानीय जनताको आशा र अपेक्षा पनि यही छ । विदेशमा रोजगारी गरेर बसेका नेपालीहरूको सोच र सपना पनि यही छ । मेयर साम्पाङको सोचाइ र काम गराइमा देखिएको जनशैलीले पनि यो आशा र सपनालाई प्रेरित गरिरहेको देखिन्छ ।

निर्वाचित भएपछि सुकिला मुकिला कपडा लगाएर चिल्लो टेबुलमाथि सेतो कागजका पानामा टक्क रातो मसीले ‘सिग्नेचर’ गर्ने, टिलिक्क टल्काएर जुत्ता लगाउने, झिंगा चिप्लने गाडीमा शयर गर्ने, अर्डरको भरमा काम भएको हेर्ने नेपाली शासन र प्रशासनको प्रवृत्तिभन्दा फरक शैलीमा प्रस्तुत भएका छन्, मेयर हर्क !

हुन त हो, मेयरले काम गर्ने हो र ? एकजना मेयरले काम गरेर देश विकास हुने हो र ? ऊसले नीति, योजना र कार्यक्रम पो दिने हो त ? निकै कर्णप्रिय छन्, यस्ता तर्क र भनाइहरू !

तर यी तर्कहरू अव्यवहारिक र कोरा सैद्धान्तिक मात्र छन् । साँचो हो, मेयर नीति निर्माता हुन् । तर निर्माता आफै निर्माण कार्यमा सहभागी भएन, अनुगमन गरेन र जाँच परख गरेन भने उसले देखेको सपना अर्को व्यक्तिबाट उत्तिकै स्पिरिटका साथ कार्यान्वयनमा आउन सक्ला र ?

अर्को कुरा, अहिलेसम्म हाम्रा शासक तथा प्रशासकहरू निर्देशक भए, ‘थिङ्क ट्यांक’ कहलिए, तर तिनले देखेका सपना, दिएका निर्देशन र कार्यक्रम कहिल्यै पूरा हुन सकेनन् । देश डुब्दै गयो, आज श्रीलङ्का पो बन्ने हो कि भन्ने डर त्यसै उब्जिएको होइन ।

नेता, शासक र प्रशासकले कुरा धरै गरे, तर व्यवहारबाट सधैं कटिरहे । नेताले भाषण गर्ने हो, जनताले सुन्ने हो । शासकहरूले सपना बाँड्ने हो, जनता मख्ख पर्ने हो । प्रशासकले निर्देशन दिने हो, मातहतका निकायले कागजमा काम गरेको देखाउने हो । बस्, यही त भयो आजसम्म ।

देश विकासका लागि जनताले रगत बगाए, तर आज उल्टो समीक्षा भइरहेछ, ‘फगत’ बगाए ! यो निकै दु:खको कुरा हो । तर धरानले आज विचार र व्यवहारको उचित संयोजन भएको नेता पाएको छ ।

त्यसैले त निशाने खोला बगरमा महिनौदेखि स्थानीय जनताले श्रम शिविर चलाइरहेका छन्, खाने पानीका लागि । बालुवा ओसार्ने, ढुंगा बोक्ने, गिट्टी कुट्ने, पाइप गाड्नका लागि खाडल खन्ने र अन्तत: धरानवासीको तीर्खा मेट्ने एकमात्र लक्ष्यमा डटिरहेका छन्, मेयरसँग स्थानीय धरानवासी !

खानेपानीका लागि आज महिनौसम्म जनश्रम चलिरहेको छ । जनश्रम जुटिरहेको छ । मेयर साम्पाङलाई जिताउन कस्सिएर लागेकाहरू आज उनैसँग जनश्रममा साथ दिइरहेका छन् । घाम पानीको कुनै परवाह नै छैन ।

उनीहरूको महिनौदेखिको उत्साह र लगनको उद्देश्य भनेको धरानवासीको तिर्खा मेट्नु हो । यस अघि २७ दिनसम्म पकुवा खोलामा निरन्तर श्रमदान गरेर स्थानीय जनताले पकुवा खोलाबाट दैनिक ५ लाख लिटर खानेपानी धरानमा थप गरिसकेका छन् ।

अहिलेको निशानेखाला प्रोजेक्टबाट पनि यही सफलता हात लाग्ने र लगाउने स्थानीय जनताको विश्वास छ । निशाने खोलामा सार्वजनिक बिदाका दिन १ हजारभन्दा बढी स्थानीय जनताको ओइरो लाग्नु मजाकको कुरा होइन ।

स्थानीय जनताको विश्वास यसरी अभिव्यक्त हुने गरेको छ ‘पार्टीका नेतैपिच्छे कार्यकर्ताले खाएर सिध्याउनु भन्दा बरू हर्कले एक्लै खाओस् । तर हामी ढुक्क छौं, मेयर हर्कले उत्पात नगरे पनि नराम्रो काम चाहिँ गर्दैनन् ।’

धराने प्राकृतिक स्रोत दोहन गर्न नदिने हर्कको अडान जनताका बीचमा निकै लोकप्रिय बनेर बिस्तार भइरहेको छ । मेयर हर्कको ‘किड्नी र कलेजो बेचेर गहना लाउँछु र प्राकृतिक स्रोत बेचेर विकास गर्छु’ भन्ने सोच एउटै हो भन्ने अभिव्यक्ति नगरवासीमा गहिरो गरी भिजेको छ ।