• मंसिर ११ २०८१, मंगलवार

श्रावण मास, सङ्क्रान्ति र अयन परिवर्तन

श्रावण १ २०७९, आईतवार

यसपालि श्री सम्वत् २०७९ नलनामक सम्वत्सर, शतभिषा नक्षत्र, श्रावण कृष्ण चतुर्थी तिथि, सौभाग्य योग, बालव करण, रविबार प्रातः ११ः१३ प्रवादन कालमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाँदै गृष्म ऋतु उत्तरायण सकिएर दक्षिणायन वर्षा ऋतु आरम्भ हुँदैछ ।

तिथिर्बारश्च नक्षत्रं योग करणमेव च पन्चागस्य फलं श्रुत्वा गंगा स्नान फलं लभेत् ।

अर्थात् तिथि, बार, नक्षत्र, योग, करण मिलेर बनेको पञ्चाङ्ग श्रवण गर्नाले गंगा स्नान गरेको फल मिल्ने भनेर शास्त्रमा वर्णन गरिएको छ । यस मासमा सूर्य कर्कट राशिमा हुनेछन्, त्यसैले संक्रान्ति पनि कर्कट नै भएको छ । यो मासका अधिपति देवता हुन् श्रीधर र मासकी देवी हुन् कान्तिमती ।

मानव जीवन समय चक्रमै घुमिरहेको हुन्छ । सौर्यमास अनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा कर्कट राशिमा सूर्य सङ्क्रमण हुन जाँदा कर्कट सङ्क्रान्ति हुन्छ । सूर्य दक्षिणायन भई हाम्रो भूगोल अनुसार दिन मान थोरै र रात्रीमान धेरै हुने हुँदा दिनको समय भन्दा रात्रीको समय बढी हुने यस अवस्था सूर्य मकर राशिमा सरी माघे सङ्क्रान्ति नआएसम्म कायम रहन्छ ।

उत्तरायण (माघदेखि आषाढसम्म) लाई देवताको दिन र दक्षिणायन (श्रावणदेखि पौषसम्म) लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, विहे, व्रतवन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मूख्य चाडपर्व चतुर्मास व्रत, महादशैँ, नागपञ्चमी, कृष्ण जन्माष्टमी, रक्षावन्धन, तिहार आदि पर्दछन् ।

पितृहरुका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छन् भने मानिसको इहलीला समाप्त हुने पुण्य बेलाचाहिँ तुलनात्मक रुपमा उत्तरायणलाई बढी शुभ मानिएको छ ।

तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चाङ्ग बन्छ । ज्योतिष शास्त्रको मूल आधार यही नै हो । प्र्रत्येक सङ्क्रान्ति सकेमा र नसकेमा श्रावण सङ्क्रान्ति, मकर सङ्क्रान्ति, मेष अर्थात् बैशाख सङ्क्रान्तिमा पञ्चाङ्ग श्रवण गर्नाले घरैमा गङ्गास्नान गरेको पुण्य मिल्ने कुरामा पूर्वीयदर्शनले पुष्टि गरेको छ ।

काल (समय)ले कसैलाई छोड्दैन । समय सबैभन्दा बलवान छ । महिना महिनामा आउने सङ्क्रान्ति (सङ्क्रमण) र कोठामा परिवर्तन हुने क्यालेण्डरका पानाहरुले आफूले गरेका जीवन उपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन् ।

छ, छ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ हामीलाई । तृष्णा बढाउने, रोग वृद्धि गर्ने तर काल चक्रभन्दा माथि छु भन्ने अहम् भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र पर हितकारी काममा प्रेरित हुने संकेत हो सङ्क्रान्ति भनौँ अयन परिवर्तन !

जीवन सन्तुलित र सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले ! सके वाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि नै मानव जीवनलाई लक्ष्योन्मुख, उद्धेश्योन्मुख हुन पनि प्रेरित गर्छ, अयन परिवर्तनले !

दार्शनिक, आध्यात्मिक महत्वको साथै कर्कट सङ्क्रान्तिको साँस्कृतिक महत्व पनि रहेको छ । हाम्रो मुलुकको अधिकांश जीवनस्तर कृषिमै आधारित छ । मुख्यबाली धान, मकै, कोदो, भटमास आदि रोपणबेला अर्थात् वर्षायाम खेतबारीको काम यसै समयावधिमा हुनेगर्छ ।

कृषिको आधार छ वटा ऋतुमध्ये मुख्य वर्षाऋतुको आरम्भ कर्कट सङ्क्रान्तिबाटै सुरु हुन्छ । यद्यपि असारमै बाढी, पहिरोको कष्टकर जीवन भोग्न बाध्य भयौँ हामी यसपालि पनि ।

मनसुन चाँडै शुरु भए पनि गत  वर्षझैं असारमै अधिकांश रोपाइँ कार्य हुन भने सकेन, मल अभावको समस्या पुरानै हो । खेती किसानी गर्नेहरु झन् बढी स्वस्थ हुनुपर्ने र कीरा फट्याङ्ग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यसदिनको विशेष कार्यले प्रेरणा थप गर्छ हामीलाई । यसैदिन कण्डारक नामको देव पूजन गर्ने चलन छ हाम्रो ।

हिलो, मैलो, वर्षाको कारण घाउ खटिरा आदि चिलाउने छालाजन्य रोग नलाग्न साउने सङ्क्रान्तिको साँझपख लुतो फाल्ने चलन छ । लुत्तो फालेपछि जडीबुटीको रुपमा रहेको कुकुर डाइनोको पात जलाएर घाउ खटिरामा मलम लगाउने चलन पनि छ । साँझपख कण्डारक नामक पिशाचको पूजा गरी लुतो फाल्नाले छालाजनित रोग नहुने विश्वास गरिन्छ ।

अर्को धसिङ्गरेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७.७ वटा पार्ने ती मुठालाई निशाचार पिशाचलाई चढाई ४ वटा सल्लाको दाउरालाई आफ्नो घरको मूल धुरी नाघ्ने गरी चारैदिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ । मासको फुलौरा खोरीमा राखी फल पूmलसमेत चढाउने, आँगन, चोक गोबरले लिप्ने, सफा पहिरन साथ दर्शन ढुंगा (सेतो ढुंगा) मा कण्डारक देवता स्थापना गर्ने, दिप, कलश, गणेशसहित पूजा, उपासना गर्ने विधान छ ।

पिठोले रेखी हाली, कर्ममात्र, पूजासामान, नैवेद्य, भेटीसहित आँगनमा बसेर पृथ्वीको पूजा समेत त्यहीँ गरिन्छ । अन्त्यमा धूप, दिप, दक्षिणा, समापन आदि कार्यसमेत पूजाका विधानले गर्ने गरिन्छ । अन्त्यमा नाङ्लो ठटाएर अपशकुनहरुलाई खेद्ने कार्य पनि हुन्छ ।

सहरबजारतिर भने अयन परिवर्तन हुने कर्कट सङ्क्रान्तिमा देव मन्दिरहरुमा जाने, विशेष स्नान, सन्ध्यावन्दन गर्ने, ब्राह्मणहरुबाट सङ्क्रान्ति फल श्रवण गर्ने, स्वस्ति वाचन गराउने, आफन्त चेलीबेटीहरुलाई बोलाई टिका, प्रसाद दिने, मीठा खाने कुरा खुआउने एउटा संयोगको पर्वको रुपमा मानेर खुशियाली आदान प्रदान गर्ने रुपमा मनाइने गरिएको पाइन्छ ।

सबैजसो चाडबाड आरम्भको संकेत दिने श्रावण सङ्क्रान्तिले धार्मिक, साँस्कृतिक पर्वको रुपमा आपूmलाई स्थापित गराएको छ यो पर्वले । हरेक चाड, पर्वले त्याग र तपको संकेत गरेका हुन्छन् । त्याग ६ प्रकारका हुन्छन् । कमनाको त्याग सर्वश्रेष्ठ त्याग हो । कामनाको त्याग गर्नाले आशक्ति हट्छ । आशक्तिले देवत्व प्राप्ति हुन्न । व्यक्तिको उन्नति पनि हुन्न ।

अनाशक्तिले व्यक्ति माथि उठ्न सक्छ । आसक्ति होउञ्जेल रागले छोड्दैन । राग होउञ्जेल भक्तिको उदय हुँदैन । भक्तिको उदय बिना ज्ञान र बैराग्यको उदय हुन्न । निस्काम भक्ति बिना इहलोक र परलोक सप्रँदैन । अप्राप्तिमा त्याग सबैले गर्न सक्छन् । अभावको त्याग वास्तविक त्याग होइन । सबैथरि वरिपरी हुँदाको त्याग त्यागको यथार्थ हो । श्रीसम्पत्ति, धनी, मानी एैश्वर्यशाली, पद प्रतिष्ठाले पूर्ण हुँदाको त्याग सही त्याग हो । वैराग्यले लक्ष्मीलाई धर्मपूर्वक सञ्चालन गर्नुपर्छ ।

धर्म, यज्ञ, अनुष्ठान, सार्वजनिक निर्माण कार्यमा दान दिनु त्यागको लक्षण हो । आर्जनको ९० प्रतिशतमा मात्र  आफ्नो  हक भोग रहन्छ । १० प्रतिशतमा  आफ्नो अधिकार रहँदैन । घट्ना, दुर्घटनामा समान स्वभाव लक्षण हुनु पर्ने हुन्छ । आचारलाई नछोड्नु तपको लक्षण हो । पातहरु हल्लन सक्छन् वृक्षमा तर अंकुर मर्दैन ठीक त्यस्तै अपयशहरु आउन सक्छन्, बाधाहरु आउन सक्छन् तर धैर्यता तपस्वीको लक्षण हो ।

कसैप्रति याचना नगर्ने, ठूलासँग हात नथाप्ने, सानासँग याचना नगर्ने, बराबरी स्वभावसँग पनि याचना नगर्ने व्यक्तिका वरिपरी ईश्वर बसेको हुन्छ । सके दिने, नसके कमसे कम याचना चाहिँ नगर्नेसँग परमेश्वर बसिरहेको हुन्छ । प्रमादका ८ दोषहरु छन् –५ इन्द्रीयहरुको छाडापन त्यसमा मन, बुद्धि र अहंकार समेत ३ थपिँदा यी दोषहरु मानवमा विद्यमान हुन्छन् ।

अतितको चिन्ता, भविष्यको आशाले व्यक्तिलाई सताइरहेको हुन्छ । गएका दुःख वेदना पूर्ण अभिव्यक्तिले व्यक्तिलाई निराश बनाउँछ । व्यर्थ चेष्टा, व्यर्थ चिन्ता, व्यर्थ चिन्तनले शरीर बोझिलो बन्छ । हामी कारेरोनाले सताइएका छौँ ।

मनभरि कुण्ठा होलान् तर धैर्यको बाँध नतोडी दरो आत्म बल राखौँ, सकेको सेवा गरौँ दान, धर्म पनि सकेको गरौँ । यसैमा चाड पर्वले दिने बल प्राप्त हुन्छन् । भविष्यप्रतिको ठूलो आशा गर्नाले पनि व्यक्तिलाई चिन्तामा धकेलिरहेको हुन्छ । यसको अर्थ पूरै जीवन निराश भए समस्या फेरि थपिन्छ । मनमा उत्साह थप्न नै यस्ता चाडपर्व हाम्रा वरिपरि आउने गरेका हुन् ।