• फाल्गुन २६ २०८२, मंगलवार

अनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनकारी अघि बढे…

असार २९ २०७९, बुधबार

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपनि श्रीलंकाको अवस्था तनावपूर्ण रहेको छ । हजारौं प्रदर्शनकारीहरू अहिले कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयतिर अघि बढिरहेका छन् ।

यो क्षेत्र मुख्य प्रदर्शन केन्द्र गाले फेस ग्रीनबाट लगभग २० मिनेट टाढा छ । राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।

तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकार बनेपछि राजीनामा दिने बताएका छन् तर प्रदर्शनकारी भने रनिल विक्रमासिङ्घेबाट तत्काल राजीनामा चाहन्छन् । किनभने राजापाक्षेले देश छोडेपछि श्रीलंकाको संविधानअनुसार रानिल विक्रमासिङ्घे स्वतः ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्नेछन् ।

एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘यदि राष्ट्रपति र प्रधानमन्त्रीले आज साँझसम्म राजीनामा नगरे हामी फेरि भेला हुनेछौं र संसद र अन्य सरकारी भवनहरू कब्जा गर्नेछौं ।’

एक प्रदर्शनकारीले आफू गोटा–रनिल सरकारविरुघ भएको छ र दुबै त्यहाँबाट जानुपर्ने माग गरिरहेका छन् ।