• चैत्र ५ २०८१, बुधबार

विज्ञजनको एकै स्वर, किन्नु हुन्न १२ बोर !

असार २८ २०७९, मंगलवार

काठमाडौं । नेपालले हतियार खरिद गर्ने योजना सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीको लागि नेपाल सरकारले निकै पुरानो र ‘समय सिद्धिइसकेको’ हतियार १२ बोरसहित अन्य हतियार खरिद गर्न लागेको छ ।

१२ सय थान १२ बोरबाहेक इटालियन बेर्रेटा कम्पनीको १ हजार थान पेस्तोल, २५ हजार सेल अश्रुग्याँस, ११५० थान फोल्डिङ सर्टगन र १० लाख गोटा प्लास्टिकका गोली खरिद प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले ७ वर्षदेखि हतियार खरिद नगरेको जनाएको छ । हतियार खरिद नगरिनुका कारण अहिले प्रहरीमा हतियारको अभाव छ । कतिपय मौजुदा हतियारका लागि आवश्यक गोली गट्ठाको अभाव रहेको भनाइ पनि प्रहरी मुख्यालयको छ ।

यसको आपूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट १ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजेट माग गरिए पनि सरकारले हतियार तथा गोलीगठ्ठा खरिद शीर्षकमा मात्र ८४ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

प्रहरी फोर्सका लागि आवश्यकताका आधारमा हतियार खरिद गरिनु जरुरी रहेको कुरा सम्बन्धित निकायबाट सार्वजनिक गरिए पनि सर्वसाधरणका माझमा यसले केही चिन्ता र चासो भने अवश्य उब्जाएको छ ।

पहिलो कुरा, स्थानीय निर्वाचन सकिए लगत्तै प्रदेश तथा संघीय निर्वाचन संघारमा आउन थालेको छ । निर्वाचन सुरक्षाका लागि खटाइनु पर्ने प्रहरीका लागि पनि हतियार आवश्यक छ ।

तर १२ बोरजस्तो धेरै मानसलाई घाइते बनाउने हतियार किन किन्न लागियो भन्ने प्रश्नले धेरैलाई सोच्ने बनाएको छ । यसमा कमिसनको खेल रहेकोमा विज्ञहरुको गहिरो चासो र चिन्ता छ ।

अहिले प्रश्नको धुरी बनिरहेको १२ बोर हतियार प्रहरी प्रधान कार्यालयले दशक अघि देखि नै काम नलाग्ने घोषणा गरिसकेको हो । पहिलो कुरा त यो समय परिवर्तनका हिसाबले पनि ‘एक्स्पायर’ भइसकेको छ ।

दोस्रो कुरा, मानवीय जोखिमका हिसाबले पनि १२ बोर प्रहार गरिएमा धेरै मानिस घाइते हुनसक्ने भएकाले यसको प्रयोग औचित्यहीन भइसकेको ठहर भएको छ ।

फेरि पनि हजारौंको संख्यामा यसको खरीद के प्रयोजनका लागि हो ? यो खोजीको विषय बनिरहेको छ । हतियार किन्नुको औचित्य दर्शाउँदै भीड नियन्त्रण र निर्वाचनका कुरा गरिएको छ ।

तर औचित्यहीन १२ बोरको संख्या थप्न थालिएको छ । नेपालमा यो हतियार प्रयोगमा एक प्रकारको रोक लगाइसकिएको छ । त्यसैले पनि यसको खरिदमा आशंका उब्जनु स्वभाविक नै बनेर आएको छ ।

अर्को कुरा, नेपालमा विदेशी मुद्रा सञ्चिति अभावका कारण देश आर्थिक दुर्घटनातिर डोरिँदै गएको छ । हतियार खरिदमा नेपाली रुपैयाँ चल्दैन । हतियार खरिदका लागि छुट्याइएको ८४ करोड रुपैयाँ राष्ट्र वैंकबाट डलरमा सटही गरी खरिद प्रक्रिया अघि बढाउनु पर्छ ।

यसले विदशी मुद्रा सञ्चितिमा ठूलो ह्रास ल्याउने र देशलाई थप अधोगतितिर धकेल्ने आफैमा स्पष्ट छ । त्यसैले हतियार आवश्यक भए पनि समय र परिस्थितिका हिसाबले यो समयानुकूल भएन भन्ने तर्क जोडदार रुपमा उठिरहेको छ ।

हतियार खरिदका बारेमा अर्को तर्क पनि उठिरहेको छ । देशमा अहिले आन्तरिक रुपमा सुरक्षा चुनौती छैन । देश द्वन्द्वको अवस्थामा पनि छैन । यति नै बेला प्रहरीलाई हतियार किन चाहियो ? सरकार पनि किन अघि बढ्यो ? कतै चुनावका लागि खर्चको जोहो गर्ने खेल त चलिरहेको छैन ?