काठमाडौं । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।
दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ ।
यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।
रिमबहादुर सानोमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । उनले विद्यालयको अनुभूति गर्न पाएनन् । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् ।
मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो, उनले भने, ुबाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।
आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन् । अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन, उनले विगत सुनाए ।
रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भए । त्यसयता उन नियमितरुपमा विद्यालय गइरहेका छन् । उनले बिहान र बेलुकाको समयमा घरको काम भ्याउँछन् । उनले दिउँसोको समयको सदुपयोग गरिसकेका छन् ।
ुघरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु, रिमबहादुरले भने, दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु । आर्थिक अवस्था कमजोर भएकै कारण उन रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो ।
भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन् । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । उमेरले पढ्न छेक्दो रहेनछ, रिमबहादुरले भने, त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।
रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन् । पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु, लालमतीले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।
रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो ।
यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ, उनले भने । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन् । अहिले बिस्तारै सबै बानी परेका छन् ।
रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो, प्रधानाध्यापक खत्रीले भने, अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ । यो समाचार नागरिक दैनिकमा छ ।