• मंसिर ७ २०८१, शुक्रबार

यसरी झर्‍यो झोरूङ पुल

असार १२ २०७९, आईतवार

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएपछि पुल खोलामा खस्न पुगेको छ । बिगु गाउँपालिका–४ लाई ५, ६, ७ र ८ वडासँग जोड्न लागि बनाइएको यो पुल ढलान हुने अवस्थामा खसेपछि स्थानीय जनता चिन्तित हुन पुगेका छन् ।

ढलानको तयारी भइरहेका बेला टेका र फर्मा राखिएको ठाउँमा भेल पसेर बगाइदिएपछि यस्तो अवस्था सिर्जना हुन गएको हो । छड बाँधेर सिध्याउने बेलामा यस्तो विपद निम्तिएपछि यति ठूलो नोक्सानी बेहोर्नु परेको हो ।

शनिबार ठाडो खोलामा आएको बाढीले यसको टेका सबै बगाएर लगिदिएको हो । यो भन्दा पहिले नै पुलमा भएको प्राविधिक गडबडीमा शङ्का लागेपछि गाउँपालिकाले निर्माणमा रोक लगाएको थियो ।

जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिइएकाले काम समयमै हुन सकेन । ‘यस्तैमा पुल बगायो’, ठेकेदार निकटका पेटी ठेकेदारको गुनासो रहेको छ ।

तर बिगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सबइन्जिनियर सरोज खड्का भने यसमा सहमत छैनन् । उनले भनेका छन्, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शङ्का पाएरै काम रोक्न भनेका थियौं ।’

खड्का थप्छन्, ‘हामीले आफ्नै आँखाले देखेका छौं, सुरुको सानो पानी पर्दा नै यति ठूलो क्षति हुन पुग्यो ।’ खड्काका अनुसार टेको लगाउनुभन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि समयमै काम रोक्न भनिएको थियो ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुलको ठेक्का २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले लिएको थियो । ठेक्का सकारेपछि काम गर्दै आए पनि गुणस्तर र प्राविधिक नापजाँचमा कमजोरी देखा पर्न आयो ।

ढलान गरेर बनाएको भए पनि यो पुल ढल्ने र बग्ने नै थियो । यसको लेबल छड बाँध्दाको बखत नै लच्कन थालिसकेको थियो। यो पुल निर्माणमा सिङ्गटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाको २० प्रतिशत लगानी रहेको छ ।