• मंसिर १२ २०८१, बुधबार

शुक्लाफाँटामा इकोपार्क बनाइँदै

जेष्ठ २७ २०७९, शुक्रबार

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माण कार्य थालनी गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरद्वारा उपलब्ध गराइएको १५ लाख रुपैयाँको लागतमा यो काम सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रम अन्तर्गत वातावरण क्षेत्र तर्फको बजेटबाट यो पार्क निर्माण कार्य अगाडि बढाइए पछि यसले त्यहाँको पर्यावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने देखिएको छ ।

सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रलाई इको–पार्क निर्माणका लागि छुट्याइएको छ । तालका कारण त्यहाँ रहेको जैविक विविधता संरक्षण गर्ने उद्देश्यले यो कार्य अघि बढाइएको हो ।

यस कार्यले आन्तरिक पर्यटनलाई बढावा दिने गरी इको पार्कमा विभिन्न संरचना निर्माणको कार्य अघि बढाइने भएको छ । यसले अतिक्रमणको चपेटामा पर्दै गएको तालको संरक्षण हुनुका साथै वरपर रहेको भूव्यवस्थापन पनि हुने देखिएको छ ।

निर्माणाधीन इको पार्कको योजना वृहद भएकाले यसले त्यहाँस्थित बृद्ध मिलन केन्द्र, योग भवन र सिद्धनाथ मन्दिर क्षेत्रलाई पनि इको पार्कसँग जोड्ने छ । तालमा नौका विहारको सम्भाव्यता अध्ययनसमेत सुरु गरिएकाले यसले स्थानीय पर्यटनलाई गति दिने पनि देखिएको छ ।

तर यसका लागि आवश्यक बजेट जुटाउनु पर्ने समस्या पनि देखिएको छ । अहिले तालमा कमलका फूलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा, भ्यागुता, कछुवा रहने गरेका छन् । जैविक विविधताले भरिपूर्ण भएको ताल जोगाउनका लागि इको पार्कको अवधारणाले निकै सहयोग पुर्‍याउने स्थानीय जनताको विश्वास छ ।