• माघ १८ २०८१, शुक्रबार

साहित्यकारले टोखा नगरका नवनिर्वाचित जनप्रतिनिधिलाई दिए बधाई

जेष्ठ २४ २०७९, मंगलवार

काठमाडौं । संसाक साहित्यीक पत्रिकाको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख–उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको कार्यक्रम सम्पन्न गरिएको छ ।

नगरपालिकाको हलमा भएको कार्यक्रममा दर्जन बढी साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले नवजनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको माग र चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझाव दिए ।

सो अवसरमा साहित्यकार नरबहादुर बिसीले नेपाली साहित्यलाई फलाउन र विकास गर्नका लागि नगरपालिकाको पहलमा साहित्य प्रष्ठिान बनाउनु पर्नेमा जोड दिए । उनले प्रतिष्ठान निर्माण भएपछि साहित्यकार तथा कलाकारहरुले क्षमता प्रदर्शन गर्न सजिलो हुने बताए ।

साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले टोखा नगरपालकिालाई देशभर चिनाउनका लागि नगरका विभिन्न स्थानहरुमा संस्कृति तथा परिचय झल्कने द्वारहरु बनाउनु पर्ने सुझाव दिए ।

साहित्यकार रामबाबु सुवेदीले साहित्यकारहरुको मन कञ्चन हुने भएकोले टोखा नगरपालिकालाई नमूना बनाउनका लागि चाहिने सुझाव दिन तयार रहेको बताए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन पनि व्यक्त गरे ।

अर्का साहित्यकार डा. दामोदर पुडासैनीले नगर प्रमुख भनेको नगरका जनतालाई अँध्यारोबाट उज्यालोतिर डोर्याउने अगुवा भएकोले जनप्रतिनिधिहरु जनताको पिता बन्नु पर्ने धारणा राखे ।

उनले अमेरिकाको उदाहरण दिँदै त्यहाँ फोहोर गर्नेहरुको घर नविकरण नगरिने भएकोले यहाँ पनि त्यस्तै नियमहरु बनाउन सुझाव दिए । उनले उत्तर कोरियाको उदाहरण दिँदै त्यहाँ प्रत्यक घरमा एउटा फलको बोट हुनै पर्ने नियम रहेको भन्दै समयको सदुपयोग गर्दै केही न केही उदाहरणीय काम गर्नै पर्नेमा जोड दिए ।

सो अवसरमा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले टोखाका जनताले एकजना कर्मठ र जनचाहना बुझ्न सक्ने प्रमुख पाएकोमा खुशी व्यक्त गर्दै समयसापेक्ष निर्माणका योजना बनाएर काम गर्न नवनिर्वाचित प्रतिनिधिहरुलाई सुझाव दिए ।

कार्यक्रमको बिचमा कवि राजेन्द्र घिमिरे र उत्तम भेटुवालले कविता वाचन गरे । कार्यक्रममा साहित्यकार गार्गी शर्मा, तारा केसी लगायत उपस्थित थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडानम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरेले मन्तव्य राख्दै साहित्यलाई सुरक्षित गर्न सके इतिहास सुरक्षित हुने धारणा राखे ।

उनले ‘आफू ठुलो मान्छे भएँ भन्ने ठानेको त जनताको सेवक पो बनेको रहेछु’ भन्दै सारगर्वित मन्तव्य राखे । उनले जनताले विजयको माला लगाइदिँदा जनताले ‘आफूलाई तह लगाउने दाम्लो लगाइदिएको महसुस भएको’ विचार व्यक्त गरे । कार्यक्रमको अन्तिममा नगरप्रमुख प्रकाश अधिकारीले नगरपालिकाको पहलमा नगरस्तरीय साहित्यीक प्रतिष्ठान बनाउने सुझावलाई आफूले गम्भिरताका साथ लिएको बताए ।

त्यसका लागि उनले साहित्यकारहरुको अगुवाइमा नगर भरीका साहित्यकारहरुको सूची तयार पारी वृहद योजना ल्याउन पनि आग्रह गरे । उनले विस्तृत योजना लिएर माग गर्न आएमा आफूले बजेटका लागि पहल गर्ने आश्वासन पनि दिए ।

उनले टोखाको परिचय झल्काउने द्वार, पाटी लगायतका संस्कृति निर्माणको लागि सहयोग गर्ने वचन पनि दिए ।