(नेपालमा कम्युनिस्ट नामका धेरै पार्टीहरु छन् । सैद्धान्तिक हिसावले मतभिन्नता आउने बित्तिकै विभाजन भइहाल्ने रोग नेपालका कम्युनिस्ट नामका पार्टीहरुमा छ । कम्युनिस्ट पार्टी विभाजनको कारण विचारमा सैद्धान्तिक मतभेदले यस्तो देखिएको हो । ०७, ०३६, ०४६, माओवादी जनयुद्ध र ०६२/६३ सालका जनआन्दोलनहरुबाट प्राप्त भएका केही उपलब्धिहरु र भएका परिवर्तनहरुलाई कम्युनिस्ट पार्टी गठन भएपछिका फाइदाको रुपमा लिन सकिन्छ । गणतन्त्र स्थापना हुनुमा कम्युनिस्ट बाहेक अन्य विचार बोक्नेहरुको पनि सहभागिता त रहेको छ तर संख्या र गुणमा कम्युनिस्टहरु भन्दा उनीहरु कम नै थिए । कम्युनिस्ट व्यवस्था स्थापनाका लागि उठेको उभार ४६ सालपछि एमालेको संसदमा प्रवेशसँगै सेलायो । माओवादीले दिएको कम्युनिस्ट आन्दोलनको निरन्तरता ७२ सालको संविधान निर्माणपछि कमजोर हुँदै गयो । प्रचण्डहरुले जनतालाई धोका दिए भन्दै विप्लवको नेतृत्वमा चलेको विष्फोटपूर्ण आन्दोलन पनि भर्खर सम्पन्न भएको स्थानीय चुनावमा सहभागिता सहित विसर्जन भएको विश्लेषण गर्न थालिएको छ । यसैबिच विप्लवहरु घुमिफिरी संसदीय व्यवस्थामै गए अब हामी क्रान्तिको झण्डा बचाउँछौं र यसलाई निरन्तररुपमा उठाउँछौं भन्दै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नामको पार्टी बनेको छ । कम्युनिस्ट आन्दोलन नै कमजोर हुँदै गइरहेको यो अवस्थामा अब कसरी जनतालाई आशावादी गराइ आन्दोलनलाई अघि बढाउनुहुन्छ त ? भनेर हामीले सो पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली‘सुदर्शन’लाई सोधेका छौं । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेप–सम्पादक । )
प्रश्न : विप्लव(नेकपा)का नेता तथा कार्यकर्ताहरुले अब हामी चुनावबाट फर्किसकेका छौं, त्यसकारण तपाईंहरुले पार्टी फुटाउनुको अर्थ सकिएको छ भन्नु भएको छ, यसमा तपाईंको के भनाई रहेको छ ?
उत्तर : पहिलो कुरा त अहिले चुनावमा जाने कुरा नै गलत छ । त्यो कुरा त व्यवहारिक रुपमा पनि पुष्टि भएको छ । कपिलवस्तुमा पार्टीको १२औं केन्द्रिय कमिटीकों बैठकमा पार्टी दलाल संसदीय व्यवस्था अन्तर्गत निर्वाचन आयोगमा दर्ता गरेर नजाने,चुनावमा भाग नलिने, बरु देशभक्त र प्रगतिशील चरित्रका छन् भने पहिचान गरि चुनावमा समर्थन गर्न सकिने भन्ने हामीले निर्णय गरेका थियौं । हो, यो निर्णयलाई नै कुल्चिएर उहाँहरुले केन्द्रीय समितिका सदस्यहरु र जिल्ला समितिका सचिव र सदस्यहरुलाई नै लिएर चुनावमा जानुभयो । यो सबै घटनाक्रमलाई हेर्दा उहाँहरुले निर्णयलाई उल्लङ्घन गरे । अर्को उल्लङ्घन व्यवहारिक रुपमै कहाँ भयो भने, चुनावमा गलत ढंगले गठबन्धन गरे । विदेशीको दलाल गरेर एमसीसी पास गर्नेहरुसँग गठबन्धन गर्नु गम्भीर गल्ती हो । यो प्रमाणले उहाँहरु संसदीय भासमा भासिसक्नु भयो भन्ने नै हुन्छ । एकीकृत जनक्रान्ति पदावली जुन राम्रो थियो त्यसलाई हामीले वैज्ञानिक आधारमा छलफल गरेर अझ समृद्ध गर्दै अघि बढाउन खोजेका थियौं । त्यसलाई उहाँहरुले सारसंग्रहवादी कार्यदिशा बनाउनुभयो । सैद्धान्तिक रुपले सारसंग्रहवादी हुँदै गएपछि उहाँहरुले चुनावमा जाने गल्ती गर्नुभएको हो । यो कुरा चुनावको प्रकृयामा मात्रै देखा परेको होइन कि, लामो दुई लाइन संघर्षको प्रक्रियाका क्रममा विकास भएर अहिले विष्फोट भएको हो । त्यसकारण उहाँहरुले अहिले हामीलाई अर्को पार्टी बनाउनुको औचित्य छैन भनेर भन्नुभएको हो भने त्यसो भनेर हामी फर्किने कुरा होइन । बरु उहाँहरु नै नीतिगत र सैद्धान्तिक रुपमा चुकिसक्नु भएको छ ।
प्रश्न : पार्टी विभाजनका लागि तपाईंहरुलाई कसैले धेरै पहिलेदेखि उचालेको थियो, चुनाव त बहाना मात्रै हो भनिन्छ नि ?
उत्तर : उहाँहरुसित सैद्धान्तिक र वैचारिक छलफल भइरहेकै थियो । विप्लवजीकै नेतृत्वमा क्रान्ति कसरी गर्ने भन्नेमा छलफल भइरहन्थ्यो । उहाँहरुले चुनावतिरको गलत बाटो लिनुभयो । पार्टी चुनावमा जाने महासचिव विप्लवजीबाट प्रस्ताव केन्द्रीय समितिले अस्वीकार गरेपछि पनि चुनावमा नजाने कुरालाई उहाँले पालना गर्नु भएन । त्यसपछि कुनैपनि छलफल नगरी हामीलाई कारवाही पनि गर्नुभयो । कमरेड कञ्चन र मलाई सिधै पदमुक्त गर्नुभयो । यी घटनाक्रमले उहाँहरु पहिलेदेखि नै क्रान्तिकारीहरुलाई कसरी पन्छाउने भन्नेमा हुनुहुन्थ्यो भन्ने पुष्टि भएको छ । अर्को कुरा उहाँहरुले ‘पार्टी विपरीतहरुको एकत्व हो’ भन्ने दार्शनिक कुरालाई नमानेर थबाङ महाधिवेशनले पास गरेको ‘पार्टी सजातीय विपरीतहरुको एकत्व हो’ भन्ने नीतिको पनि दुरुपयोग गर्नुभयो । सजातीय भनेको आफूलाई मान्ने, समर्थन गर्ने, प्रशंसा गर्ने खालका मानिसहरुलाई उहाँहरुले सजातीय भन्नु भयो । फलस्वरुप जसले महासचिव विप्लव र प्रकाण्डहरुमा यस्तो खाले कमजोरी छ भनेर भन्थे, आलोचना गर्थे तिनीहरु सबै पाखा लगाइए । त्यसकारण उहाँहरुले द्धन्द्धात्मक भौतिकवाद होइन, निषेधात्मक अभिधूतवादको प्रयोग गर्नुभयो । यो उहाँहरुको आदर्शवादी कुरा हो । त्यो कारणले उहाँहरुमा सैद्धान्तिक विचलन आइसकेको थियो । त्यसकारण हामी निस्कनका लागि कुनै बहाना बनाएको कुरा होइन । क्रान्तिको झण्डा विप्लव जीहरुले झुकाए, क्रान्तिको झण्डालाई दलाल संसदीय व्यवस्थामा बुझाउन थालेपछि सचेततापूर्वक हामीले क्रान्तिको झण्डा उठाएका हौं ।
प्रश्न : तपाईंले भने अनुसार हो भने त विप्लव नेतृत्वको नेकपा आउँदो संसदीय चुनावमा पनि जानुहुन्छ ?
उत्तर : संसदीय व्यवस्थाको प्रकृयामा सामेल भइसक्नुुभयो । जो उम्मेदवार भएर गएका छन् उनीहरुले यही व्यवस्था मान्छौं भनेर सपथ खाइसकेका छन् । अर्को कुरा ‘वस्तुगत स्थिति सित हाम्रो आत्मगत स्थिति मिल्दैन’ भन्ने महासचिवको व्याख्या हुँदाहुँदै पनि चुनावमा जानु भयो । जसका कारण अहिले करारी हार व्यहोर्नु भइसक्यो । महासचिव आफैले पनि भोट हाल्न पाउनु भएन । यस्तो विजोग भएको छ । अहिले जुन अवस्था देखापर्यो, यो अवस्था आउनुमा उहाँहरुको अत्यन्तै मनोगत निर्णय थियो । ‘पेटी बुर्जुवा रोमान्टिसिजम’मा फस्नु भयो भन्ने आरोप हाम्रो छ । यसलाई ‘निम्न पुँजीवादी स्वच्छन्दतावाद’ पनि भनिन्छ । यसलाई कल्पनावाद भने पनि हुन्छ । उहाँहरु स्वैरकल्पनामा रम्नुभयो । एउटा सपना देख्नु भयो, जुन प्रकृया र पद्धति थियो त्यसलाई सबै बिर्सेर र एकातिर हालेर नयाँ काम गर्दैछौं भन्दै झुक्याउँदै पुरानोमा गइसक्नुुभएको छ । जानीजानी सैद्धान्तिक रुपले नै गल्ती भइसक्यो । जुन व्यवस्थाका विरुद्ध हामी लडिरहेका थियौं, त्यही व्यवस्थाको शरणमा पुग्नु भनेको आत्मसम्पर्ण हो । अब उहाँहरु फर्कनु हुन्छ वा फर्कनुहुन्न त्यसको कुनै अर्थ हुँदैन ।
प्रश्न : ‘रुसमा लेनिनले एकचोटी चुनावलाई प्रयोग गर्नुभएको थियो हामीले पनि त्यसै गरेका हौं’ भन्ने कुरा उहाँका पक्षधरहरु तर्क गरिरहनु भएको छ, यो तर्कमा कतिको दम छ ?
उत्तर : रुसमा त्यहाँको जार शाहले एकचोटी संसदीय चुनावको घोषणा गरेको थियो । बेलायत र फ्रान्समा जुनखालको संसदीय व्यवस्था छ, जहाँ बोल्न, लेख्न पाइन्छ त्यहाँ भनेर जुन भ्रम दिइएको थियो । लेनिनले १९०६ मा रुसमा त्यसको उपयोग गर्नुभयो । जहाँ लेनिनले लेखिदिएका भाषणहरु त्यहाँका सांसदहरु जो विभिन्न तहमा चुनावबाट पुगेका थिए तिनीहरुले पढ्थे । तर, संसदमा त्यसरी बोल्ने सांसदहरुलाई जेल हालियो । सजायका लागि साइबेरिया पठाइयो, फाँसी दिइयो । यी घटनाले गर्दा संसदीय व्यवस्था बेठिक छ भन्ने कुरा त्यहाँका जनताले बुझे । त्यसपछि लेनिनहरुले त्यहाँको संसदीय चुनाव बहिष्कार गर्न सुरु गर्नुभयो । लेनिनले त्यो अवस्थामा चुनावको बहिष्कार गर्नु भएको हो । नेपालमा पञ्चायती व्यवस्था हटेर २०४६ सालमा बहुदल भएपछि कम्युनिस्टहरु सत्तामा आएमा केही नयाँ काम गर्दा हुन् भन्ने भ्रम जनतामा थियो, त्यो भ्रम हटाउन हामीले पनि ०४८ को चुनावमा भाग लियौं । भाग लिइयो, बोल्दा जति पनि बोल्न पाइने तर, बोलेको बोली व्यवहार लागू नहुने जुन खालको संसद देखा पर्यो । त्यसबेलादेखि संसदीय व्यवस्था बेठिक रहेछ भन्ने परेको थियो । यता जनयुद्धपछि ६४ सालको चुनावमा पनि हामीले भाग लियौं । यी सबै घटनाक्रम हेर्दा संसदमा गएका कम्युनिस्टहरु कोही पनि फर्केनन् । बरु संसदीय व्यवस्थाकै सेवा गरे । त्यसकारण हामीले संसदीय व्यवस्थाको उपयोग गर्ने भनेको किन हो भने, वैज्ञानिक समाजवादमा जाने र जनताको सेवा गर्नका लागि हो । तर नेपालमा संसदीय चुनावको प्रयोगले के सिद्ध गयो भने यसलाई बदल्नका लागि भन्दा पनि यसले हामीलाई बदलिदिने भयो । यसो भएपछि त जनातको सेवा होइन कि संसदीय व्यवस्थाकै सेवा गरेको ठहर्यो । कम्युनिस्टहरुले बनाएको वा बनाउने कार्यनीतिले उसको रणनीतिलाई सेवा गर्नुपर्छ भन्ने मार्क्सवादी मान्यताविपरीत यहाँ त क्रान्तिकारी कार्यनीतिले विपरित व्यवस्थाको रणनीतिलाई पो सेवा गर्यो । वैज्ञानिक समाजवाद ल्याउने काममा कतैपनि त्यसले सेवा गरेन । नेपालका सबै कम्युनिस्ट पार्टीहरु यसरी नै पुरानै व्यवस्थाको सेवा गर्न गए तर, हामी जान हुँदैन भन्ने हाम्रो कुरा थियो । यो कुरा विप्लवजीहरुले बुझ्नुु भएन । उहाँहरुले विषयलाई यान्त्रिकरुपमा बुझ्नु भयो । लेनिनले प्रयोग गर्नु भएको थियो, ४८ सालमा हामीले पनि प्रयोग गरेका थियौं भनेर भन्न थाल्नुभयो । ४८ सालमा त माओवादी पार्टी कम्तिमा चुनावी मोर्चा बनाएर चुनावमा गएको थियो । पार्टीले नै चुनावमा भाग लिएको थिएन । तर यसपाली त विप्लवजीहरुले जसरी पार्टी नै चुनावमा जानुुभयो । आज आउँदा त संसदीय व्यवस्था नै निकम्मा सावित भएको अवस्था छ । यो व्यवस्था लुटेराहरुले चलाउने व्यवस्था हो भन्ने स्थापित भइसकेको छ । यो व्यवस्थाले भ्रष्टाचार हट्दैन,जनसेवाको काम हुँदैन भन्ने कुरा सावित भइसकेपछि पुनः सोही यात्रामा जानुको तुक छैन । आफू थाकेको कुरा इमान्दारीपूर्वक नभन्नु हो र पुरानै रोगले ग्रस्त हुनु हो ।
प्रश्न : अहिलेको स्थानीय चुनावले उहाँहरुलाई पुरानै व्यवस्थामा फर्कने बहाना बन्यो भन्न मिल्छ ?
उत्तर : एकदम त्यही हो । चुनावमा गएर जनतासित जोडिन्छौं र जनसर्मथन बनाउँछौं भन्ने उहाँहरुको जो कुरा थियो, चुनावमा गएर जनतामा जोडिनु भएन कि बरु जनतामा घृणित हुनुभयो । अहिले पनि समाजमा जानुभयो भने वा बसमा चढ्नु भयो भने कुराहरु आउँछन् । एउटा केही गर्छ कि भन्ने विप्लव थियो, त्यो पनि यही लुटिखाने व्यवस्थामा आइपुग्यो भनेर अहिले सिदासादा मानिसहरुले समेत भन्ने गरेका छन् । विप्लव जीहरुले क्रान्तिकारीहरुमा घृणा पैदा गराउने भ्रम छर्ने काम मात्रै गर्नुभयो ।
प्रसंग बदलौं, अब तपाईंहरु कसरी अगाडी बढ्नु हुन्छ, सडक संघर्षमा रहेका र यो व्यवस्था विरुद्ध लडिरहेका पार्टीहरु जस्तैः मोहन वैद्य, आहुति र ऋषि कट्टेलहरुसित तपाईंको पार्टीको सम्बन्ध के हुन्छ ?
उत्तर : हामीले अहिले लिएको बाटो वा पार्टीको न्यूनतम कार्यक्रम भनेको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने नै निर्धारण गरेका छौं । त्यसलाई प्राप्त गर्ने बाटोका रुपमा ‘एकीकृत जनयुद्ध’ बनाएका छौं । राजनीतिक रुपले त्यसलाई सघाउनका लागि ‘स्वाधीन सरकार’को माग गरेका छौं । त्यसका साथै राजनीतिक कार्यनीतिका नाराहरु पनि दिएका छौं । स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताका नाराहरु पनि दिएका छौं । हामी यी कार्यक्रमहरु लिएर अगाडी बढ्छौं । हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविका र खासगरि राष्ट्रियताको सवाललाई लिएर संघर्षमा अगाडी बढ्छौं । त्यसका लागि हामी केही दिनपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर अहिलेका जल्दाबल्दा विषयलाई समेटेर संघर्षका कार्यक्रमहरु अगाडी बढाउँछौं । त्यसका साथै हाम्रो पार्टी निर्माणको प्रक्रियालाई अगाडी बढाउँछौं । यसबीचमा मोहन वैद्यले नेतृत्व गर्नुभएको क्रान्तिकारी माओवादी, आहुतिजीले नेतृत्व गर्नु भएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेलजीले नेतृत्वको गर्नुभएको नेकपा र गोपाल किरातीले नेतृत्व गर्नु भएको माओवादी पार्टी लगायतका पार्टी र समूहहरुसित पनि कार्यगत एकता, संयुक्त मोर्चा र तत्काल आधारभूत रुपमा विचार र कार्यक्रम मिले भने पार्टी एकता पनि गरेर जानु पर्छ भन्ने पक्षमा छौं । उहाँहरुसित छलफलको प्रक्रिया सुरु भएको यद्यपी हामी आफ्नै पार्टीको आन्तरिक छलफलमा बढी व्यस्त भएको हुनाले त्यतातिर अलि बढी समय दिन पाएका छैनौं । हामी तुरुन्तै पार्टीको केन्द्रीय समितिको बैठक बसेर त्यतातिर पनि पाइला चाल्ने गरि कार्यक्रम मिलाउँछौं ।
प्रश्न : विप्लवहरु ‘एकीकृत जनक्रान्ति’को प्रयोगको नाममा संसदीय चुनावमा गएपछि तपाईंहरुले ‘एकीकृत जनयुद्ध’ पदावली भनेर ल्याउनुभयो । यसको सारमा तपाईंहरुले गर्ने क्रान्तिको मोडल कस्तो हो त ?
उत्तर : यसको मूख्य कुरा भनेको चाहिँ वर्ग संघर्षको लाइन हो । ‘जनयुद्ध’ शब्दले कोही तर्सिनु पर्ने आवश्यकता छैन । जब वर्ग संघर्ष अगाडी बढ्दै जान्छ । जनताले त्यसलाई शान्तिपूर्ण रुपमै चलाईरहेका हुन्छन् । राज्यबाट हुने सबैखाले अन्याय, अत्याचार र शोषणका विरुद्ध जनताले संघर्ष गर्छन् । तर यसलाई नसहने अन्याय र अत्याचारीहरुले वा शासकहरुले शसस्त्र तरिकाले दमन गर्दछन् । त्यो दमनको स्वतः प्रतिरोध हुन्छ । त्यो प्रतिरोधक्रममा जनताले जनसंघर्षको उच्चतम रुप जनयुद्धको प्रयोग गर्दछन् । तर आजको जनयुद्ध हिजो हामीले लडेको जस्तो जनयुद्ध हुँदैन । गुरिल्ला वारफेयर हुँदैन । आज समग्र युद्ध हुन्छ । आज जसरी जल, थल र हवाई जस्ता सबै तरिकाहरु प्रयोग भइरहेका छन् युद्ध जित्नका लागि, त्यसका साथै मनोवैज्ञानिक, साँस्कृतिक र सामाजिक जस्ता विभिन्न खालका उपायद्धारा जसरी साम्राज्यवादीहरु लडेका छन्, त्यसरी नै यहाँपनि उनीहरु आउँछन् । आन्तरिकरुपमा फुट पार्न आउँछन् । मनोवैज्ञानिक रुपले पनि कमजोर बनाउन खोज्छन् । ती सबैखाले षडयन्त्रका विरुद्ध विचारधारात्मक, राजनीतिक र सैद्धान्तिक तरिकाले लड्ने लडाईं नै ‘एकीकृत जनयुद्ध’ हो । यसलाई खाली शसस्त्र तरिकाको मात्रै बुझ्न हुँदैन । दमन भयो भने जनताले हतियार नै खोसेर पनि लड्नु पर्ने हुन्छ, त्यो पाटो पनि छ । अहिले त्यतापट्टी भन्दा पनि भ्रष्टाचार, अन्याय, अत्याचारका विरुद्ध शान्तीपूर्ण संघर्षहरु गर्छौं । त्यस्तै नेपालको राष्ट्रियतामाथि आँच आउने खालका सन्धि सम्झौताहरु भएका छन् त्यसका विरुद्ध लड्छौं । त्यो लडाइँको प्रक्रिया अगाडी बढ्दै जाँदा वा वर्गसंघर्षको तरिका शान्तिपूर्ण तरिकाले अगाडी बढ्दै जाँदा दमन भयो भने त्यसको प्रतिरोध हुन्छ भनिएको हो ।
प्रश्न : अन्तराष्ट्रिय प्रसंग, युक्रेनमा रुस तपाईंहरुकै भाषामा साम्राज्यवादी अमेरिकासित लडिरहेको छ तर, तपाईंको दस्तावेजमा रुसलाई नै साम्राज्यवादी देश भनेर उल्लेख गर्नु भएको छ, के रुस साम्राज्यवादी देश हो ?
उत्तर : हो, अहिले रुस साम्राज्यवादी देश नै हो । किन कि स्टालिनका पालामा सोभियत संघ थियो । त्यतिबेलासम्म त रुस साम्राज्यवादी थिएन, समाजवादी थियो । जब पछि ख्रुस्चेबहरु आए । १९९० पछि रुसमा ठूलो विभाजन भयो र रुसी महासंघ विघटन भयो । त्यसपछि तिनीहरुले साम्राज्यवादी नीति लिए । त्यसअन्तर्गत पहिला क्रिमिया कब्जा गर्यो । थुप्रै साना राज्यहरु कब्जा गर्दै गयो । अहिले युक्रेनलाई आधार बनाएर हानिरहेको छ । अमेरिकाले युक्रेनलाई उचालिरहेको छ । यसको अर्थ एक स्वतन्त्र मुलुक युक्रेनमाथि हमला गर्नुपर्छ भन्ने हुँदैन । लड्ने भए सिधै रुसले अमेरिकामाथि हमला गरे भो त । आफ्नो भूमि जोगाउने र तर अरुलाई प्रयोग गरेर छद्म युद्ध लड्ने गरिरहेको छ । अमेरिकाले पनि गरेको त्यही हो । त्यसलाई ‘प्रोक्सी वार’ अर्थात् छद्म युद्ध भनिन्छ । रुस र अमेरिका दुवैले गरेको त्यही हो । अर्कोलाई अगाडि बढाएर आफू पछाडी बसेर लड्ने तरिका अपनाइरेका छन् । आफ्नो जनधनको क्षति नहोस्,अर्काको जेसुकै होस् भनेर अर्कालाई उचालेर लड्ने जुन अमेरिकाले गरिरहेको छ । यसमा अमेरिकाको मुख्य दोष त छँदैछ । युक्रेनलाई उचालेर रुस विरुद्ध लडाउने नीति पनि साम्राज्यवादी नीति नै हो । हतियार विक्रीका लागि नै उसले यस्तो गरिरहेको छ । उसले आफ्नो देशलाई धनी बनाउने र अरुलाई मार्ने जुन विधि अपनाएको छ त्यो भनेको साम्राज्यवादी तरिका हो । अमेरिकाभन्दा त कम नै भयो तर रुसको पनि तरिका त्यही हो । युक्रेनलाई रुससित लड म नेटोको सेना पठाइदिन्छु भन्यो, तर अन्तिममा अमेरिकाले धोका दियो । नेटोको सेना रुस विरुद्ध लड्न पनि त्यहाँ गएन । यसरी यो युद्ध अन्तरसाम्राज्यवादी युद्ध नै हो ।
प्रश्न : कम्युनिस्ट दृष्टिकोणको तर्फबाट यो युद्धको हल कसरी निकाल्नु पर्दछ ?
उत्तर : साम्राज्यावाद विरुद्धको अन्तराष्ट्रिय लडाइँले नै यसको हल गर्दछ । त्यसका लागि अमेरिकामा पनि अमेरिकी जनताले वर्गसंघर्ष लड्नु पर्दछ । रुसमा पनि त्यहाँका शासकका विरुद्ध लड्नु पर्दछ । अरु देशका विरुद्ध होइन, युक्रेनमा जेलेन्स्की विरुद्ध त्यहाँ जनताले नै लड्नु पर्दछ । किन कि फटाहा त जेलेन्स्की हो, अर्काको भरमा लडाइँ लडेर त्यहाँका निर्दोष जनतालाई मारिरहेको छ । त्यसकारण विश्वकै सर्वहारा वर्गले आआफ्ना देशका शासकका विरुद्ध वर्ग संघर्ष थाल्नु पर्दछ । यसरी थालिएको वर्गसंघर्षले नै त्यसलाई हलगर्दछ ।
प्रश्न : विश्वका शक्तिराष्ट्रहरुका बिचको यो टकरावले विश्वमा एकखालको संघर्षको अवस्था आउनु सक्ने देखियो ?
उत्तर : कम्युनिस्टहरुले विश्वकै सर्वहारा जनताका लागि काम गर्छन् भन्ने जुन सच्याइ थियो तर नेपालमा आएर त्यसलाई भ्रममा पार्ने काम गरियो । एमाले हुँदै प्रचण्डसम्म आउँदा र अहिले विप्लवसम्म आउँदा पनि त्यो भ्रम पर्न गयो । हिजो रुसमा ख्रुस्चेबलाई पनि देखे । बोरिस एल्तसिनलाई देखे । चीनमा देङ स्याओ पिङलाई देखे । त्यसपछि जनताले यी पनि खराब नै रहेछन् भन्ने बुझे । आजको पिंढीले लेनिनको समाजवाद देखेको छैन । १९५३ सम्म स्टालिन हुँदासम्म रुसमा कति राम्रो व्यवस्था थियो । चीनमा १९७६ सम्म माओ रहँदासम्म कति राम्रो व्यवस्था थियो भन्ने कुरा आजको पिंढीले बुझेको छैन । आजको पिंढीले खास समाजवाद नेदेखेको र उनीहरुले देखेको आजको समाजवाद भनिएको व्यवस्था पुँजीवादी भइसकेकोले उनीहरुका लागि यो सत्य कुरा दिन सकियो भने वा समाजवादी चेतनाको भूमण्डलीकरण गर्न सकियो भने हामी पक्कै पनि जित्न सक्छौं ।
समाप्त ।