• मंसिर १२ २०८१, बुधबार

विमानस्थल सेवा शुल्क एकैपटक २ हजार रुपैयाँले बढ्यो,अस्वाभाविक वृद्धि भन्दै नाट्टाको विरोध

बैशाख १२ २०७९, सोमबार

काठमाडाैं ।  नेपाल सरकारले विमानस्थल सेवा शुल्क वृद्धि बढाएकोप्रति ट्राभल व्यवसायीको छाता संस्था नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले विरोध गरेको छ ।

सरकारले अधिक शुल्क लिने गरी गरेको निर्णय अस्वाभाविक भएको र यात्रुलाई अनावश्यक भार थप्ने काम गरेकाले तत्काल फिर्ता लिन नाट्टाले माग गरेको छ ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत लिने शुल्क हाल १ हजार लिने गरेकोमा एकैपटक २ हजार बढाएर प्रतियात्रु ३ हजार रुपैयाँ पुर्‍याएको छ ।

सरकारले व्यवसायीसँगको छलफलमा उपयुक्त शुल्क लिन सक्ने हुँदाहुँदै एकतर्फी रूपमा गरिएकोे शुल्क वृद्धिको नाट्टाले विरोध गरेको हो । यो शुल्क ट्राभल व्यवसायीले संकलन गरेर प्राधिकरणलाई बुझाउने गर्छन् ।

प्राधिकरणले विमानस्थल विकासको नाममा यस्तो शुल्क लिने उल्लेख गरेको छ । यस्तो शुल्क टिकटसँँगै जोडिएर आउने भएकाले अब टिकट काट्दै अन्तर्राष्ट्रिय उडानमा जाने हरेक यात्रुले थप शुल्क ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

नाट्टाले पर्यटन व्यवसायीसँग सम्बन्धित नीतिनियम निर्माण गर्दा सरोकारवालासँगको समन्वय गरेर मात्रै निर्णय लिन माग गर्दै तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेको छ ।