• मंसिर १४ २०८१, शुक्रबार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

बैशाख २ २०७९, शुक्रबार

काठमाडौँ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको शेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ ।

दोस्रो बजारमा शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ । वर्ष, २०७८ ले शेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन गरेका धेरै देशमा शेयर बजारमार्फत पूँजी सङ्कलन गर्ने र लगानी विस्तार गर्ने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि शेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । नेप्सेको विवरणअनुसार २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अङ्क नजिक पुगेको थियो । यो बिन्दु हालसम्मकै उच्च हो । त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपी भन्दा रु तीन खर्ब बढी भएको थियो ।

त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपीभन्दा रु तीन खर्ब बढी भएको थियो । विसं २०७७ चैत ३१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार ७१४.७९ अङ्कमा बन्द भएको थियो । गत वर्षको पहिलो कारोबार दिन अर्थात् २०७८ वैशाख २ गते नेप्से परिसूचक २०.६७ अङ्कले बढेर दुई हजार ७३५.४६ मा बन्द भएको थियो ।

अनेकन उतारचढावका बीच नेप्से परिसूचकले गत भदौ २ गते सबैभन्दा उच्च बिन्दुको इतिहास कायम ग¥यो । त्यसदिन नेप्से परिसूचक तीन हजार १९८.६० मा पुगेको थियो । शेयर बजारमा थोरै पूँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा रु चार करोड र परिवारका थप तीन जनाले रु १२ करोड बराबर मात्रै शेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि शेयर बजारमा राम्रै हलचल भयो । शेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैङ्क शेयर बजार मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गरे ।

शेयर बजारलाई उत्पादनशील क्षेत्र मान्ने कि अनुत्पादक क्षेत्र मान्ने भन्ने बहस सधँैजसो चलिरहेको छ । केन्द्रीय बैंकको लगानी सीमाले पनि सो बहसलाई सतहमा ल्याइदियो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना गैरकानुनी शेयर कारोबारमा संलग्न भएको पाइएपछि यसै वर्ष बर्खास्तीमा पर्नुभयो ।

सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण शेयर बुक बिल्डिङ विधिबाट बिक्री गर्ने प्रयोजनका लागि बोर्डमा आवेदन दिनुुअगावै अध्यक्ष ढुङ्गानाले छोरी रेविकाको नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार सार्वजनिक भयो । नियमक निकायको प्रमुखले नै शेयर खरिद गरेको भन्दै चौतर्फी रुपमा आलोचना भयो । अर्थ मन्त्रालयले ढुङ्गानालाई के कसो भएको हो भन्ने जिज्ञासा राख्दै पत्राचार ग¥यो । मन्त्रालयले आन्तरिक रुपमा मात्रै नभई विशेष छानबिन समिति नै गठन गरेर ढुङ्गानामाथि अनुसन्धान ग¥यो । अनुसन्धानबाट ढुङ्गानाले गैरकानुनी रुपमा शेयर खरिद गरेको पुष्टि भयो । अन्ततः उहाँ आफ्नो पदबाट हट्नुप¥यो । नेपालको शेयर बजारको इतिहासमा नियमक निकायको प्रमुख नै बर्खास्तीमा परेको पनि यो पहिलो पटक देखियो ।

त्यतिमात्रै नभई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि सर्वोत्तम सिमेन्ट प्रकरणले राजीनामा दिन बाध्य बनायो । साउदले समेत श्रीमतीको नाममा शेयर खरिद गरेको पाइएको थियो । नियामक र बजार व्यवस्थापकको रुपमा रहेको नेप्सेका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने विषय शेयर बजारका लागि कालो इतिहासको रुपमा स्थापित भयो । विसं २०७७ को असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको हितग्राही खाता हालसम्म आइपुग्दा ५१ लाख बढी पुग्नु पनि शेयर बजार क्रमशः विस्तारित हुँदै गएको छ भन्ने अर्थमा लिन सकिन्छ । धितोपत्र बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएका छन् ।

आव २०७७÷७८ मा साधारण शेयरको प्राथमिक निष्काशनमार्फत २२ सङ्गठित संस्थाले रु १५ अर्ब १९ करोड, हकप्रद शेयरमार्फत सात सङ्गठित संस्थाले रु १४ अर्ब पाँच करोड, ऋणपत्रमार्फत २३ कम्पनीको रु ६९ अर्ब ६० करोड र सामूहिक लगानी कोषमार्फत नौ वटा योजनाको रु नौ अर्ब ९० करोड गरी रु एक खर्ब आठ अर्ब ७४ करोड बराबरको पूँजी परिचालन गरिएको थियो । चालु आवको हालसम्म कूल १४ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिइएको छ । ती कम्पनीले ३७ करोड ९२ लाख पाँच हजार ८०५ कित्ता शेयर रु तीन अर्ब ७९ करोड २५ लाख ८० हजार ५०० मूल्यमा बिक्री गर्नेछ । बोर्डमा विभिन्न २३ कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको अवस्था छ ।

वर्षभर नै आशा जगाएको बजारले पछिल्ला केही महिनामा भने निराश बनाएको लगानीकर्ताको टिप्पणी छ । यद्यपि वर्ष, २०७८ को शेयर कारोबार हुने अन्तिम दिन गत बुधबारअर्थात् चैत ३० गते भने आशा जगाएर बन्द भएको थियो । त्यसदिन नेप्से ३०.२४ अङ्कले उकालो लागेर दुई हजार ४१५.२४ मा बन्द भएको छ । यस आधारमा हेर्दा पनि बजार पूँजीकरण झण्डै रु १० खर्ब बराबरले ओरालो लागेको देखिन्छ । त्यसबाट शेयर लगानीकर्ताले रु १० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेप्सेमा पछिल्ला दिन जलविद्युत् कम्पनीको बोलवाला बढ्दै गएको देखिन्छ । कूल ४७ वटा जलविद्युत् कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । सबैभन्दा धेरै शेयर भएको मानिएको माथिल्लो तामाकोशी समेत १० शीर्ष बजार पूँजीकरण भएको कम्पनीको रुपमा यसै वर्ष स्थापित भएको थियो । नेपाल टेलिकम हालसम्म पनि धेरै बजार पूँजीकरण भएको कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छ ।

केन्द्रीय बैंकको नीति, बैंक तथा वित्तीय संस्थाको तरलताको अभावजस्ता कारणले बजार सुस्ताएको छ । इतिहास कायम गरेको नेप्सेले यस वर्ष अर्को नयाँ इतिहास कायम गर्ने विश्वास पनि व्यक्त गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक फरक प्रसङ्गमा विश्व शेयर बजार र एकाधिकार पूँजीपतिको अर्थराजनीतिक विषयमा गर्नुभएको टिप्पणीलाई लिएर केही दिन नेपालको शेयर बजारसमेत प्रभावित भयो । गत पुसमा सम्पन्न माओवादीको आठाँै राष्ट्रिय महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा पनि साना शेयर लगानीकर्ताको हितमा शेयर बजारले काम गर्न नसकेको विषय समेट्नुभएको थियो । शेयर बजार विरोधी अभिमत आएको भन्दै केही लगानीकर्ताले त्यसमा असन्तुष्टि जनाए । अध्यक्ष ‘प्रचण्ड’ले विश्व शेयर बजारको सन्दर्भमा उल्लेख गरेको विषय नेपालको शेयर बजारसँग सम्बन्धित नभएको भन्दै स्पष्टीकरण नै दिनुप¥यो ।

बोर्डमा सरकारले रमेशकुमार हमाललाई नियुक्त गरेको छ । यस्तै, नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । शेयर बजारको विकास र विस्तारमा सरकारले विशेष ध्यान दिएको अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक दोहो¥याउनुभएको छ । वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन आफू प्रयासरहत रहेको बोर्डका अध्यक्ष हमालले प्रतिबद्धता सार्वजनिक गरिसक्नुभएको छ । बैंक तथा वित्तीय संस्थाको शेयरले मात्रै बजार विस्तार हुन नसक्ने उल्लेख गर्दै उहाँले वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने, बजारको आधुनिकीकरण गर्ने र लगानीका नयाँ क्षेत्रको पहिचान गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइसकेको तथ्य सार्वजनिक गर्नुभएको छ । त्यस्तै, नेप्सेका प्रमुख कार्यकारी अधिकतले बजारमा हुने अनाधिकृत कारोबार, इन्साइडर टे«डिङ रोक्न आफूले प्रयास थालिसकेको बताउनुभएको छ ।

वर्षभरि नै शेयर बजारमा अलिक चलाख लगानीकर्ताको बोलवाला देखिएको थियो । नेप्से परिसूचक लगातार उकालो लाग्दा नाफा कमाइयो भनेर बसेका लगानीकर्ता पछिल्ला दिनमा आइपुग्दा धेरै गुमाउन पुगेको अवस्था छ । नेप्से उकालो लाग्दा बजारमा प्रवेश गर्ने लगानीकर्ता ओरोलो लागेको बजारमा भने प्रवेश गरेका छैनन् । तरलताको सहजता एवं लगानीमैत्री वातावरण बन्ने अपेक्षामा लगानीकर्ता यतिबेला पर्ख र हेरको अवस्थामा पुगेका छन् । यस्तै, साधारण शेयरमा आवेदन दिनेको सङ्ख्यामा पनि उल्लेख्य प्रगति हुनु, गाउँ गाउँमा समेत शेयर बजारको बारेमा चासो बढ्नु तथा प्रविधिमैत्री बन्दै जानुले पनि नेपालको शेयर बजार नयाँ उचाइमा पुगेको छ । वर्ष, २०७८ मा कायम गरेको भन्दा नयाँ उचाईमा बजार पुग्ने र ठूलो पूँजी परिचालन हुने अपेक्षामा सरकार र लगानीकर्ता समेत व्यग्र प्रतिक्षारत छन् ।

देशको आर्थिक अवस्था सङ्कटग्रस्त हुने दिशामा पुगेको भन्ने आशङ्का बीच नेपालको शेयर बजारले वर्ष २०७९ लाई सकारात्मकरुपमा स्वागत गर्ने धेरैको अपेक्षा छ । बोर्डका अध्यक्ष हमालको शब्दमा बजारमा नयाँ लगानीको अवसर खोज्दै जाँदा त्यसले पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । किनकी, रातपछि दिन आउँछ र उज्यालो घाम लाग्छ भने जस्तै ‘बियरिस टे«ण्ड’ मा रहेको शेयर बजारले पक्कै पनि ‘बुलिस टे«ण्ड’ पछ्याउने नै छ ।

किनकी, यसै वर्ष, स्थानीय तह र सङ्घीय संसद्को निर्वाचन हुँदैछ । कोरोनाको कहर क्रमशः अन्त्य भएको छ । सरकारले नयाँ आर्थिक नीतिको तर्जुमा गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा क्रमशः तरलताको सङ्कट हट्दै जाने अपेक्षा गरिएको छ । गैरआवासीय नेपालीले शेयर बजारमा लगानीका लागि तयार भएका छन् । सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको छ । बजारसमेत मनोवैज्ञानिक रुपमा सबल बन्दै गएको छ । यी र यस्ता कारणले नेपालको शेयर बजारमा सुनौलो घाम उदाउने विश्वास व्यक्त गर्न सकिन्छ ।