• बैशाख १९ २०८३, शनिबार

धोबी खोला क्षेत्रमा बनाइएका पक्की भवनहरू पनि भत्काउन सुरु

बैशाख १९ २०८३, शनिबार

काठमाडौं  । काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

आजदेखि साे क्षेत्रका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

‘उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबी खोलाको देवीनगर क्षेत्रमा रहेका घरटहरा हटाउने कार्य जारी छ,’ उनले भने ।

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो ।

हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन भइरहेको छ ।