• मंसिर ११ २०८१, मंगलवार

रामनवमी पर्व : चर्चा श्रीरामकै

चैत्र २६ २०७८, शनिबार

यसपाली ०७८ चैत्र शुक्ल नवमी भनौँ राम नवमी पर्व २७ गते आइतबार परेको छ । यही सन्दर्भमा श्रीरामका विषयमा चर्चा गर्ने यो लेखको उद्धेश्य रहेको छ ।

‘भागवतमा अहं सर्वेषु भूतेषु’ भनिएको छ, अर्थात् ईश्वर सबै प्राणी जगत्मा रहेका छन् । पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर पाइन्छ । परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रुप लिएर चित् स्वरुपमा रहेको र जगतमा सगुण, साकार स्वरुप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरुले ब्याख्या गरेका छन् ।

हाम्रा श्रुति (वेद) हरुले परमतत्व जीवात्मामा आराम तत्व लिएर हरप्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरुले परमेश्वरका परम लीला प्रसंग, अवतार कथाहरु अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् । परमेश्वरका अनेक अवतारहरुमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भदिन स्मरणस्वरुप चैत्रशुक्ल मध्याह्न  बाह्रबजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रुपमा मानिएको छ ।

अयोध्याका नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वायम्भूमनु एवं शतरुपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रुपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरु प्रशस्त पाइन्छन् ।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विशद चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए । मरा, मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपश्वी साधकका रुपमा श्रीरामका पावन कथा प्रसंगहरुको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयम् वेद प्रस्तुत भई रामायणको एक रुप लिएको प्रसंग पनि यत्रतत्र भेटिन्छन् । सबै मानिसका लागि वेद सरल र सहज छैन परन्तु आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुदै संसारभरि फैलिएको छ ।

रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो । भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयम् कवि बन्न पुग्छ । आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ भनिएको छ ।

शोक, भय, चिन्ता ब्याकुलतामा परेकाहरुको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लीलाहरुको संकीर्तन नै हो । ब्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्य समेतले रामायणको चर्चा गर्न छाडेका छैनन् ।

अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरुको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयम् महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा बह्माण्डका सारा विषय वासनाहरु समेत मोहित बन्न पुग्छन् ।

धर्तीमा रहेको प्रदूषणलाई हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरुको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावनदिनलाई रामनवमीको नामले पुकारिन्छ ।

दशरथले राममा पाएको पितृस्नेह, पत्नीब्रत धर्म अर्धाङ्गिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानव जीवनको यथार्थपरक आस्था हो, ब्यवहारत एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुख, भोग, ऐश आरामलाई सिधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन संचालन गर्न सवैलाई संस्मरण गराउँछ । राम बनवास जाँदा दुुखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन् ।

जीवनका लागि यो भन्दा ठूलो त्याग के पाइन्छ । बाबुको बचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतिक श्रीराम आदर्श पति आदर्श पुत्र आदर्श भाइ र आदर्श राजा समेत हुन् । सदाचारको आदर्श र ब्यवहार प्रयोगको असल नमूना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ठ र सर्वाेत्तम शास्त्र हो ।

नेपालभूमि, जानकीको जन्मभूमि जनकराजाको जन्म र कर्मथलो पूर्वीय चिन्तनको भण्डार जनकपुरक्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवानको अवतार प्रसंगवारे प्रश्न राख्दा भगवानका अंशांश, अंश, आवेश, कला, पूर्ण एवम् परिपूर्णतम गरी मुख्य ६ अवतार बताइएको थियो । पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ ।

सृष्टिका उषाकालमा मरिचि आदि ऋषिमुनिहरुलाई अशांशका अवतारका रुपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार कपिलदेव, कच्छपअवतारलाई कलाअवतार, परशुरामलाई आवेशअवतार, रामलाई पूर्णअवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकता अनुसार अवतार लिने बारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भागवत गीतासम्ममा चर्चा पाइन्छ ।

शिवगीतामा देवी पावतीलाई र रामगीतामा भाई लक्ष्मणलाई यी प्रसंगहरु सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि संचालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखा पर्छ ।

हिरण्यराजले उपद्व्रव गरिएकी पृथ्वीलाई बचाउन बराह, हिरण्यकशिपुको आवेगवाट प्रह्लादलाई बचाउन नृसिंह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सांख्य योगसिद्ध गर्न कपिल एवम् ऋषभ अवतार र रावणादि असुरहरुबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ ।

दुष्ट राजाहरुको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्ध अवतार लिने प्रसंग पनि शास्त्रहरुमा वर्णित छ । त्यस्तै महाकलीका अन्त्यमा उनै परमेश्वरले कल्किअवतार लिने पनि भविष्यवाणी गरिएको छ । यो समय आउन धेरै बाँकी छ ।

सूर्यवंशमा मध्याह्नमा धर्ती अवतरित श्रीरामको जन्मदिन रामनवमी पर्व हामी सबैका लागि महत्वपूर्ण दिन हो । यसपर्वमा मुलुकभरका राममन्दिर एवम् अन्यान्य देव, तीर्थस्थलहरुमा विशेष भीडभाड नै हुन्छ ।

त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रुपमा ब्रह्मासामु पुगेको र ब्रह्मा आदि देवताहरुले क्षीरसागरबासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि  आफूले धर्तीमा मानवरुपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्या नरेश दशरथका कुलमा चारभाई चारअंशका रुपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन् ।

सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठ सामु दुःख प्रस्तुतहुँदा गुरुआज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा श्रृङ्गिऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरुलाई बाँड्नु भनेपछि रानीहरुमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चारपुत्ररत्नहरु प्राप्त भएको प्रसंग शास्त्रहरुमा चर्चा भएको छ ।

रामायणको विविधता अनुसार पायसको चर्चा पनि फरक फरक देखिन्छ । रानी कौशल्या र कैकेयी नजिक रहेकी र सुमित्रा पछि आइपुगेकीले दुईभागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा २ गर्भ रही लक्ष्मण र शत्रुघ्न २ पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव पनि उस्तै उस्तै राम र भरतसँग मिल्दोजुल्दो छ ।

पायस वितरणको प्रसंगले हनुमानको उदयको चर्चा पनि जोडिन पुग्छ । रानीहरुले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चील आएर सुमित्राको हातको पायस टपरी लिएर गयो ।

आफ्नो पायस उडाएर लैजाने चील भने देवसभाकी अप्सरा भएकी र इन्द्रसभामा नृत्य प्रस्तुत गर्दागर्दै खुसी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाई दिँदा ब्रह्माले यो देखेर रिसाएर चीलले सिनो झम्टेर लिएझैं माला लिएकीले चील योनीमा जन्महोस् भनी श्राप दिएपछि देवताहरुको आग्रहमा चीलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनी छुट्ने वचन ब्रह्माजीले नै दिएकाले सुमित्राको पायस लिने यही चीलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलीसामु राखिदियो ।

देवलोकबाट प्रसाद प्राप्त सम्झी अञ्जलीले त्यो पायस खाँदा पवनपुत्रका रुपमा शिवस्वरुप हनुमानको जन्म भएको र रामलाई आपद उद्धारहेतु सहयोग गरेको चर्चा पनि रोचक छ ।

तिथिका हिसाबले रामनवमीको लगत्तै पछि चैत्रशुक्ल पूर्णिमा हनुमान जयन्ती यही ०७९ वैशाख ३ गते शनिबार परेको छ । नेपालको कर्णाली, महाकाली र भारतको सरयुनदी बन्न पुग्छ, यसैका किनारमा अयोध्या क्षेत्रमा सूर्य मेष राशिमा, ५ ग्रह उच्च भएका बेला, कर्कटलग्न, पुनर्वसु नक्षत्र, अभिजित मुहुर्तमा श्रीरामले धर्ती अवतरण गर्नु भएको र यो समय देवताहरुले पुष्पवृष्टि गरेका रोचक प्रसंगहरु छन् ।

धर्तीमा बालरुप अवतार प्रसंगको दर्शन गर्न नपाएका आकाशका चन्द्रमाले अयोध्या प्रवेश गरी  आफूले सो दृश्य हेर्न नपाएको गुनासो गरेपछि अर्काे अवतार चन्द्रवंशमा, मध्यरात्रिमा, द्वापरयुगमा श्रीकृष्ण अवतार पूरै बाललीला अवतरण दृश्य हेर्न पाइने आश्वासन दिँदा एकयुगसम्म  आफू पर्खन नसक्ने दृढता व्यक्त गरेपछि हालै आफ्नो मस्तकमा विराजमान गर्न चन्द्रमालाई आदेश दिँदा श्रीरामको नाम रामचन्द्र बन्न पुगेको, नामले पूर्णता प्राप्त गर्न भक्त चन्द्रमाले सहयोग गरेका र कोमल मस्तकमा चन्द्र शोभा भएको प्रसंग पनि काव्यकारहरुले राम्ररी प्रस्तुत गरेका छन् ।

श्रीरामको अवतार प्रसंगको चर्चा गर्दा यो साह्रा दृश्य अयोध्यावासीकै भेषभुसामा रहेर  आफूले अवलोकन गरेको कुरा शिवजीले माता पार्वतीलाई बताउनु भएको छ । रामायणको बालकाण्डले रामलीला अवतारको जन्म प्रसंग रोचक ढंगले बताएको छ ।

यस बारेमा सन्त तुलसी दासले आफनो कृति राम चरित मानसमा बढो सुन्दर ढंगले चर्चा गरेका छन् । रामायणको चर्चाले मानव ह्रर्दय पावन बन्छ । नयाँ वर्ष २०७९ को हार्दिक र मंगलमय शुभकामना सहित आम पाठकवृन्दमा न्यानो अभिवादन, नयाँ वर्ष पूर्ण सुखद र पावन रहोस् ।