• मंसिर ८ २०८१, शनिबार

नेपाल-बंगलादेश कूटनीतिक सम्बन्ध : व्यापार घाटा कम गर्न के गर्ने ?

चैत्र २५ २०७८, शुक्रबार

ऐतिहासिक पृष्ठभूमि :

बंगलादेश स्वतन्त्र हुनुभन्दा अगाडि नै लगभग १५औं शताब्दीदेखि युरोपेली, पोर्चुगिज, डच, फ्रान्सेली तथा ब्रिटिश व्यापारीहरूले त्यस क्षेत्रमा आर्थिक प्रभाव पार्दै आएका थिए । अहिलेको बंगलादेशी क्षेत्रलाई उनीहरुले आर्थिक प्रभावमा पारेर दक्षिण एशियामा कब्जा जमाएका थिए ।

त्यसबेला अहिलेको भारत, पाकिस्तान तथा बंगलादेशमाथि बेलायती साम्राज्यवादहरुले सन् १६०६ देखि सन् १९४७ सम्म चरम शोषण गरेको पाइन्छ । सन् १९४७ मा भएको बेलायती साम्राज्यवादको अन्त्यपछि पनि बंगलादेश तत्कालीन पाकिस्तानको पूर्वी भागमा रहन पुग्यो । अहिलेको पाकिस्तान र बंगलादेश क्षेत्रमा भाषा, संस्कृति भिन्नता तथा आर्थिक असमानताहरु थिए । यसैको फलस्वरुप बंगलादेशले स्वतन्त्रताकालागि जनसंघर्ष गरेको पाइन्छ ।

सन् १९७० को अवधिमा अवामी लिग ठूलो दल हुँदाहुँदैपनि सैन्य शासकले दमन गरेर सरकार गठन गर्न नदिएपछि करिब २० लाख जनताको उपस्थितिमा सन् १९७१ मार्च ७ मा बंगबन्धु शेख मुजीबर रहमानको नेतृत्वमा ‘संघर्षको धुन स्वतन्त्रताको लागि’ भन्ने आव्हान पछि भने स्वतन्त्र संघर्षले मूर्तरुपमा पाएको देखिन्छ ।

लगभग नौ महिनाको अवधिमा लगभग तीसौं लाख मानिसको ज्यान गएको यस स्वतन्त्रता संग्रामपछि सन् १९७१ डिसेम्बरदेखि बंगलादेश स्वतन्त्र मुलुकको रुपमा रहेको छ । त्यसबेला बंगलादेशलाई स्वतन्त्र देशको रुपमा मान्यता प्रदान गर्ने सातौं देशको रुपमा नेपाल रहेको थियो । बंगलादेशलाई स्वतन्त्र मुलुकको रुपमा मान्यता दिने पहिलो देश भुटान थियो र त्यसपछि भारत, संयुक्त अधिराज्य, पोल्याण्ड, बुल्गेरिया तथा बर्माले उसलाई स्वतन्त्रताको मान्यता दिएका थिए ।

बंगलादेशका संस्थापक राष्ट्रपति स्वतन्त्रता नायक शेख मुजिबर रहमान थिए । तर, देशलाई स्वतन्त्रता दिलाउने ‘फादर अफ बंगलबन्धु’ को सन् १९७५ मा ५५ वर्षकै उमेरमा षडयन्त्रपूर्वक हत्या भएको थियो ।

कूटनीतिक सम्बन्ध :

नेपाल र बंगलादेशको सीमाना जोडिएको छैन तर पनि यी दुई देश नजिकका असल छिमेकी देश हुन् । नेपाल र बंगलादेशलाई भारतको भूभागले छुट्याएको भएपनि स्थलमार्गबाट लगभग ३८ कि.मी. मात्र टाढा रहेको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि सन् १९७२ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र बंगलादेश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको सन् २०२२ अप्रिल ८ (२०७८ चैत्र २५ गते) मा ५० वर्षे स्वर्ण महोत्सव मनाउँदैछ । स्वतन्त्रतापछि नेपाल र बंगलादेश बीचको सम्बन्ध सौहार्द, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको पाइन्छ । दुईदेश बीचको सम्बन्ध द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय, व्यापार, पर्यटन र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको छ । नेपाल र बंगलादेश दुवै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरुमा समान रुपमा सदस्य रहेका छन् । जस्तै डब्लूटीओ, बिमस्टेक र सार्क सदस्य लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका सहयात्री मात्र हैन यी दुईदेश हालैका दिनमा समान रुपमा अल्पविकसित राष्ट्रबाट मध्यम आय भएको विकासशील मुलुकमा स्तरोन्नति भएका छन् ।

आर्थिक तथा व्यापारीक सम्बन्ध :

नेपाल र बंगलादेश छिमेकी देशहरू भए पनि दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध भने नगन्य छ । नेपालबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा आयात बढि भएको भन्सार कार्यालयको तथ्याङ्कबाट पुष्टि हुन्छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा उत्पादित सामान लगभग ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने ७ अर्ब १५ करोड ७२ लाख ३४ हजारको वस्तुहरु आयात भएको देखिएको छ ।

नेपाल र बंगलादेश बीचको व्यापार घाटा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार रहेको छ । प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दै गइरहेका कारण व्यापार घाटा उच्च रहेको हुनसक्छ ।

आव २०७१÷०७२ सम्म आयातको तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामाग्री बढी निर्यात हुने गरेको थियो । तर बंगलादेश सरकारले भन्सार दर बढाएसँगै बंगलादेशमा निर्यात हुने प्रमुख वस्तुहरू जस्तै मुसुरोको दाल, जडीबुटी, अदुवा लगायतका सामग्रीको निर्यात क्रमशः कम हुँदै गएको पाइन्छ ।

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुने गर्दछ । त्यसैगरी बंगलादेशबाट जुट, आलु, प्लास्टिकजन्य सामग्री, वासिङ मेसिन, औषधि, मेसिनरी सामग्री, तयारी कपडा, टिस्यु पेपर लगायत आयात हुने गरेको व्यापार प्रबद्र्धन बोर्डको तथ्यांकबाट देखिन्छ ।

भ्रमण आदानप्रदान :

विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमण आदनप्रदानले नेपाल र बंगलादेश बीचको सम्बन्ध थप कसिलो बनाएको छ । नेपाल र बंगलादेश बीचमा रहेको व्यापार घाटालाई सम्बोधन गर्न विभिन्न समयमा द्धिपक्षीय वार्ताहरु समेत हुनेगरेका छन् । यसै सम्बन्धमा सचिव स्तरमा भएको बैठकले सम्बन्धित देशहरूमा प्राथमिक बजार पहुँच पुर्याउने उत्पादनहरूको सूचीलाई अन्तिम रूप दिइसकेका छन् ।

नेपालले लगभग ५ सय बंगलादेशी वस्तु आयातका लागि प्राथमिक बजार पहुँच प्रदान गर्न सहमति जनाईसकेको छ । बंगलादेशले भने लगभग १ सय ८ नेपाली सामानलाई उच्च प्राथमिकता दिने बताएको छ । आपसी आर्थिक विकासको साझा हितलाई पूरा गर्न नेपाल र बंगलादेशले विद्यमान समस्याहरूलाई विचार गर्दै काँकडभिट्टा–फूलबारी बंगलाबन्द मार्गलाई प्रभावकारी उपयोगमा ल्याउन चाहिरहेको छ ।

यसलाई मोंगला बन्दरगाहसम्म विस्तार गर्नुपर्छ । मोंगला पोर्ट जोड्ने बंगलाबन्ध सडकको पूर्ण उपयोगले हाम्रो दुई देशबीच तेस्रो देश व्यापारको मात्रा मात्र बढाउँदैन, यसले नेपाल र बंगलादेश बीचको द्विपक्षीय व्यापारमा नयाँ आयाम थपिन सक्ने देखिन्छ ।

जनस्तरको सम्बन्ध :

नेपाल र बंगलादेशबीचको सम्बन्ध सुमधुर रहँदै आएको यस परिदृष्यमा दुई देशका नागरिकहरु बीचको मैत्री सम्बन्ध झनै मजबुद रहेको छ । नेपालका हजारौं विद्यार्थीहरुले बंगलादेशबाट मेडिकल शिक्षा लिइसकेका छन् । एक हजार भन्दा धेरै नेपाली मूलका नागरिकहरु बंगलादेशमा बसोबास गर्छन् भन्ने विभिन्न अनुमानहरु गरिएको छ । नेपालमा करिब तीन सय बंगलादेशीहरु व्यवसाय गरेर बसेको अनुमान गरिएको छ ।

त्यसैले सरकारीस्तर भन्दा जनता–जनता बीचको सम्बन्धले द्धिपक्षीय सम्बन्ध सुधारमा ठूलो भूमिका खेल्नसक्छ । नेपाली र बंगलादेशी जनताबीच नियमित सम्पर्कलाई सहज बनाउन भ्रमण र सूचना आदानप्रदान गर्नुपर्दछ । दुवै देशमा मेला÷प्रदर्शनी आयोजना गरी त्यस्ता मेला-प्रदर्शनीहरूमा जनस्तरबाट सहभागिता हुने यकिन गरिनु पर्दछ ।

आजको परिवर्तित सूचना प्रविधिको युगमा नेपाल र बंगलादेशको बीचको सम्बन्ध तथा व्यापार आदानप्रदान र व्यावसायीक सहयोग आदान प्रदानको अवस्थालाई माथि उठाउन जनस्तरबाट नै लाग्नु पर्दछ । यसकालागि नेपाल र बंगलादेश मैत्री संघ, बंगलादेशबाट पढेर फर्केका विद्यार्थीहरुको एल्मुनाई एशोसिएसन, नेपाल–बंगला देश चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज, नेपाल–बंगलादेश बैंक जस्ता जनस्तरका संस्थाहरु अझ बढी क्रियाशिल गराउनुपर्ने देखिन्छ । एक्काइसौं सताब्दीमा उदाहरणको रुपमा रहेको नेपाल र बंगलादेश बीचको प्रगाढ सम्बन्धले दक्षिण एसियाको क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुग्न सक्छ ।

पर्यटन आदानप्रदान :

जुनसुकै देशको विकासको एउटा मेरुदण्ड पर्यटन क्षेत्रलाई पनि लिने गरिन्छ । वर्तमान अवस्थामा संसारभर महामारिको रुपमा फैलिएको कोभिड महामारीको कारण एक देशका नागरिक अर्कोदेशमा स्वस्फूर्त रुपमा घुमफिर गर्न सकिरहेको अवस्था छैन । महामारीले गर्दा पर्यटन क्षेत्र प्रायः थिलथिलो भएको छ । यस क्षेत्रमा लाग्ने केही साना व्यवसायीहरुले पेशानै परिवर्तन गरिसकेका छन् ।

विगतको समयमा पर्यटन क्षेत्रबाट राज्यलाई पुगेको आर्थिक फाइदालाई हेरेर भविष्यमा पनि यो व्यवसाय सफल होला भनेर प्रतिक्षा गर्नेहरु पनि नभएका होइनन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सन् २०२० मा प्रकाशन गरेको तथ्यांक अनुसार सन् २०१८ मा ११,७३,०७२ जना पर्यटक नेपाल प्रवेश थिए । सन् २०१९ मा ११,९७,१९१ जना पर्यटक नेपाल भित्रिएका थिए ।

जसमा बंगलादेशबाट सन् २०१८ मा २६,३५५ र सन् २०१९ मा २५,८४९ जनाले नेपाल भ्रमण गरेका थिए । बंगलादेशबाट थप पर्यटक नेपाल भित्राउने हो भने जनस्तरको सम्बन्ध अझ मजबुद हुने देखिन्छ । त्यसको लागि सरकारी स्तरबाट प्रचार प्रसार तथा प्रदर्शनी थप सशक्त पार्नुपर्ने देखिन्छ ।

व्यापार घाटा कम गर्ने उपाय :

बंगलादेशमा नेपाली कृषि उत्पादनहरू जस्तै दुग्धजन्य पदार्थ, मसला, सागसब्जी लगायत टमाटर, हरियो मटर, काँक्रा, खुर्सानी, अदुवा, अलैंची, स्याउ, सुन्तला, नासपाती, स्ट्रबेरी तथा दाल निर्यात गर्न ठूलो सम्भावना देखिन्छ । यसको लागि बंगलादेशले नेपालमा उत्पादित वस्तुहरु बंगलादेशी बजारमा प्रतिस्पर्धा गर्न द्विपक्षीय व्यापारको आधारमा आयातमा प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढीकरण गर्न भारतबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरेर तेल आयात गरेजस्तै बंगलादेशबाट पाइपलाइन मार्फत् ग्याँस ल्यउन सकिन्छ । बंगलादेशमा रहेको ग्याँसले नेपालको ग्याँस समस्यालाई कम मात्र गर्दैन, यसले द्धिपक्षीय सम्बन्धलाई समेत थप सुद्धिढ गर्न मद्दत पुर्याउँछ ।

बंगलादेशमा विद्युतको माग बढी हुने गरेको छ, त्यसैले बंगलादेशका प्रधानमन्त्रीले नेपालको विशाल जलविद्युत् सम्भावनालाई आपसी हितका लागि उपयोग गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए । नेपालका राष्ट्रपतिको बंगलादेश भ्रमणको समयमा पनि यस प्रकारका भनाइहरु दोहोरिएका थिए ।

बंगलादेशको सरकारले नेपालको जलविद्युत् परियोजनामा लगानि गर्न र नेपालमा उत्पादन हुने विद्युत खरिद गर्न तयार रहेको विभिन्न समयमा जनाउँदै आएको अवस्थामा नेपालमा थप विद्युतीय ऊर्जाको विकास हुने हो भने बंगलादेशमा विद्युत निर्यातको सम्भावना देखिन्छ । त्यसका लागि बहुराष्ट्रिय सम्झौता गरी भारतीय बाटो भएर बंगलादेश विद्युत निर्यात गरिने बाटो खुला गरिनु पर्दछ । गतहप्ता नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा भारतीय समकक्षीसँग भएको सहमती हेर्दा नेपाबाट बंगलादेश विद्युत निर्यातको बाटो खुलिसकेको छ ,जसले गर्दा बंगलादेश र नेपाल बीचको व्यापार घाटा पूर्ति हुनसक्छ ।

अन्तमा,

भूभागको आधारमा बंगलादेश नेपाल भन्दा सानो भएपनि जनसंख्याको आधारमा नेपालको भन्दा झण्डै ६ गुणा बढी रहेको छ । दुई देशका बीचमा बहुभाषीक, बहुधार्मिक समानता रहेको छ । बंगलादेशमा लगभग ८८ प्रतिशत मुसलमान, १० प्रतिशत हिन्दु र बाँकी दुई प्रतिशत बौद्ध र क्रिश्चियन रहेका छन् । त्यसैगरी नेपालको केन्द्रीय तथ्यांक विभागको सन् २०११ को तथ्यांक अनुसार लगभग २ करोड ५० लाख जनसंख्या रहेकोमा १२६ प्रकारका जातीय समूहहरु रहेका छन् ।

त्यसैगरी दश प्रकारका धार्मिक समूहहरु छन् जसमा ८१.३ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध, ४.४ प्रतिशत मुस्लिम, ३.१ प्रतिशत किरात, १.४ प्रतिशत क्रिश्चियन, ०.५ प्रतिशत प्राकृतिक र बाँकी बोन, जैन, बहाही र शीख धर्मालम्बीहरु रहेका छन् । यो तथ्यांकले नेपाल र बंगलादेशका बीचमा धेरै समानताहरु रहेको प्रष्ट पार्दछ । साँस्कृतिक, समाजिक, धार्मिक लगायतको समानताको कारण एक्काइसौं सताब्दीमा बंगलादेश र नेपालको सम्बन्ध उत्कृष्ट र कोशेढुंगा सावित भएको पाइन्छ ।