काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेलमा जाने नीतिगत निर्णय लिएको पाँचदलीय गठबन्धनमा मंगलबारबाट तालमेलको मापदण्डबारे छलफल हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आइतबार सकिएलगत्तै मंगलबार गठबन्धनको बैठक तय भएको छ ।
१७ चैतमा बसेको गठबन्धनको बैठकले चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो ।
तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्ति–सन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन दिने सहमति गरेका थिए । संयन्त्रलाई २२ चैत (मंगलबार)भित्र प्रतिवेदन दिन भनिएको थियो ।
दलहरूका प्रदेशस्तरीय प्रमुख रहेको प्रदेशस्तरीय समिति, जिल्लास्तरमा जिल्लाका प्रमुखहरूको समिति र गाउँपालिकास्तरमा गाउँपालिकाका प्रमुखहरूको एउटा संयन्त्रले काम गरिरहेका छन् ।
ती संयन्त्रलाई सम्बन्धित प्रदेश, जिल्ला र गाउँपालिकामा पाँँच दलको अवस्था कस्तो छ, त्यसबारे केन्द्रलाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
पालिका, जिल्ला र प्रदेश तहमा संयन्त्रका बैठक बसेका र समस्या देखिएको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए । ‘गठबन्धन बैठकपछि प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्रको बैठक बसिरहेको छ ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल एमालेले चुनावी तालमेलका लागि दुवै राप्रपासँग संवाद अगाडि बढाएको छ । कतिपय वार्तामा अध्यक्ष केपी ओली आफैँ सहभागी छन् भने कतिपय वार्तामा उनले निकट नेतालाई खटाएका छन् ।
चुनावी गठबन्धनलाई लिएर कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एमाले नेताहरूले वार्ता जारी राखेका छन् । चुनावी गठबन्धनकै विषयमा छलफल गर्न आइतबार बेलुकी एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच छलफल भएको छ ।
राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले गठबन्धनका लागि एमालेसँग निरन्तर संवाद भइरहेको बताए । ‘
स्थानीय चुनावमा गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ । हाम्रो पार्टीले पनि विभिन्न दलसँग गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
त्यसका लागि सबै दलसँग छलफल गर्ने बाटो खुला राखेका छौँ,’ उनले भने, ‘एमाले राष्ट्रवादी शक्ति भएको नाताले उससँग हाम्रो संवाद बढी छ ।
अध्यक्षहरूको स्तरमा औपचारिक÷अनौपचारिक छलफल चलिरहेकै छ । तर, सबै टुंगो लागेको छैन ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।