काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।
म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीकाे शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि राष्ट्रउत्थान र नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।