काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका देउवाको भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुई पक्षीय संयन्त्रहरूको सञ्चालन तथा बिटुबी र पिटुपी सम्बन्धजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
नेपालको प्राथमिकतामा परेका विषय भारतको प्राथमिकतामा पर्छन् वा पर्दैनन् भन्ने निश्चित नभएकाले नेपालको अजेन्डा के हुन्छ भन्ने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री देउवाको भ्रमणमा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल–वीरगन्ज–काठमाडौं रेल लाइन विस्तारलगायतका कतिपय महत्वपूर्ण विषयमा छलफल हुनसक्ने जनाइएको छ ।
प्रधानमन्त्रीको भ्रमणले लामो समयदेखिको दुई देशबीचको संवादहीनता तोडिने र सम्बन्ध सुधारको वातावरण बन्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।