• मंसिर १३ २०८१, बिहीबार

काउलेपानीमा लालीगुराँस प्याकेज

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा ‘लालीगुराँस प्याकेज’ सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो ।

वनमा लालीगुरास राताम्यै फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकाले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ । काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् ।

विशेष गरेर स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड छ ।

समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।

काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागि प्याकेजको व्यवस्था गरिएको छ । काउलेपानीमा १२ महिने पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणीयस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

काउलेपानीमा चैत्र र बैशाखमा काफल र ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाई प्याकेज र साउनमा कोदो रोपाई प्याकेज रहेका छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मङसिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

लमजुङको सदरमुकाम बेसीशहरबाट मोटरमा करिब ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदलयात्राबाट डेढ घण्टामा पुग्न सकिन्छ ।