काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ ।
सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा अझै भन्सार मूल्याङ्कन सन्दर्भ सूची लागु गर्नु अनुपयुक्त रहेको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउन माग गरेको छ ।
यस्तै हाल सकारले एम्बुलेन्स आयातमा गरेको वर्गीकरण, सवारी साधनको भन्सार जाँचपास र सवारी आयातमा लागु गरिएको अनिवार्य एलसी मार्जिनको व्यवस्थामा समेत पुनर्विचार गर्न नाडाले सरकारसँग माग गरेको छ । हाल सरकारले विभिन्न ४७ एचएस हार्मोनिक कोण भएका वस्तुहरुको आयातमा अनिवार्य ५० देखि शत प्रतिशतसम्म एलसी मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
यसले एउटै वस्तुमा भिन्न भन्सार कार्यालयहरूमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि विशेष पहल गरिदिन नाडाले विभागसँग माग गरेको छ ।
सोही अवसरमा नाडाले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु समेत बढदै गएको अवस्थामा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीमा लाग्ने आवश्यक कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार शुल्क लागू गर्न समेत विभागसँग माग गरेको छ ।