काठमाडौँ। देशैभर विद्युत सट हुन गई घर जलेर नस्ट हुने क्रममा उदयपुरको त्रियुगा नगरपालिकामा पनि एक घर जलेर नस्ट हुन गएको छ । त्रियुगा नगरपालिका–१२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई युवराज पराजुलीको घर आगलागी हुँदा जलेर खरानी भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेकाले धनको क्षति भए पनि उक्त घरपरिवार भने सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम भन्छन्, ‘छिमेकीको घरमा बिबाह भोजका लागि सपरिवार गएको बेला आगलागी भएकाले मानवीय क्षति हुन नपाएको हो ।’
आगो राती ९ः३० बजेदेखि सल्किएको थियो । छिमेकी अर्बिन चौधरी भन्छिन्, ‘सुरुमा धुवाँजस्तो देखियो, आगो लागेको थाहा पाएपछि हामी उद्धारका लागि जाँदा जाँदै घर सबै जलेर खरानी भयो ।’
तीनकोठे काठको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, नगद लगायतका कुनै पनि सामान सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । आगो त्रियुगा नगरपालिकाको दमकलले झण्डै एक घण्टापछि मात्र नियन्त्रणमा लिए पनि धनमाल केही पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।