काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको छलफल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक चरणको छलफल सकेर बालुवाटार निस्किएपनि लगत्तै अर्को चरणको वार्तामा बस्न फर्किएका हुन् । बैठक जारी छ । बैठकमा प्रधानमन्त्री देउवा पत्नी डा. आरजु रााणा पनि सहभागी छिन् ।
बिहीबार राति पौने १० बजेतिर देउवा फेरि ओलीसँग बालकोटमै दोस्रो चरणको बैठकमा बसेका हुन् । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवाले ओलीसंग पटकपटक गरेको छलफललाई महत्वका साथ हेरिएको छ।
सत्तारूढ गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेका हुन् । एमसीसी पास गर्न खोजे सत्ता गठबन्धन छोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने पक्षमा उभिएका थिए।
आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् ।