• मंसिर १४ २०८१, शुक्रबार

एचआइभी नियन्त्रण: पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एचआइभी रणनीतिक योजना सार्वजनिक गरेको छ ।

आज मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईंले संयुक्तरूपमा सो सार्वजनिक गरेका हुन् । सचिव गुरागाईंले एचआइभी दिगो विकास लक्ष्यमा पुग्नका लागि एचआइभी सङ्क्रमण नियन्त्रण गर्न योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै नेपाल सरकारले एचआइभी नियन्त्रण गर्न लागि परेको र यसमा दातृ निकायको पनि सहयोग आवश्यक भएको बताए।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीले एचआइभी सङ्क्रमितप्रति समाजले हेर्ने व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रणनीतिक योजनाले एचआइभी नियन्त्रण गर्न सहयोग गर्ने बताए। उनले एचआइभी रोग स्वास्थ्य रोग मात्र नभएर सामाजिक रोग भएकोले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताए।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।