काठमाडौं । भारतमा एउटा विवाह समारोहमा नजिकैको एनारमा अकस्मात इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति यस्तो दुःखद घटना हुन गएको हो ।
अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका रमाइरहेका थिए । त्यति नै बेला उनीहरुको तौलभार धान्न नसकेर सो स्ल्याब भत्कन पुग्दा त्यहाँ बसेका सबैजना इनारभित्र खस्न पुगेका थिए ।
उनीहरु खसेपछि तत्काल उद्दार कार्य अघि बढाइए पनि उनीहरुलाई बचाउन भने सकिएन । डुबेका मानिसलाई छिटोछिटो गरी अस्पताल पुर्याइए पनि उनीहरुलाई तत्काल मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्तहरु विवाहको पहिरनमै अस्पताल पुगेका थिए । यस विषयका बारेमा जिल्ला म्याजिस्ट्रेट एस राजालिंगम पनि जानकार रहेका छन् । उनले भनेका छन्, ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका छन् ।’
करिव १०.० बजेदेखि नै ५० देखि ६० महिला, युवती तथा बालबालिका विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । उनीहरु इनारमा गरिएको छेकबार कति बलियो छ भन्ने कुरामा वास्ता गरिरहेका थिएनन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई हृदयबिदारक भन्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
(एजेन्सीको सहयोगमा)