काठमाडौँ। ब्रजिलको रमणीय सहर पेत्रोपुलिसमा अचानक आएको भारी वर्षापछिको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेको बताइएको छ।
मङ्गलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो। यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो।
बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको थियो।
विशेषज्ञहरूको भनाइअनुसार प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षा ऋतुमा पानीको वर्षा बढाइरहेको छ।
तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षाबाट आउने बाढीको जोखिम र तीव्रता बढाउँछ।
यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो।
सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भयो जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो। -एजेन्सी