काठमाडौं । कांग्रेस सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई धोका दिएको बताएका छन् ।
बुधबार बसेको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याएमा आफूले एमसिसी पारित गर्न सघाउने बचन दिएका दाहाल भने अहिले भागेको एक सांसदले आरेप लगाए ।
‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने । यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाए ।
प्रधानन्यायाधीश विरूद्ध महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धन नै तोड्ने चेतावनी दिएर धोका दिएको बताए ।
‘सुरूमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने तर आज आएर सहमति तोड्ने कुरा गछन्, ती सांसदले भने ।
नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले कांग्रेस उग्रवामपन्थीको राजनीतिमा रंगीन नसक्ने भन्दै आफ्नो सिद्धान्तमा उभिनुपर्ने बताए । सांसद रिजालले आफ्नो सिद्धान्तमा उभिएर अहिलेको हल खोज्नुपर्ने बताए ।
‘उग्रवामपन्थी राजनीतिमा कांग्रेस रंगीन सक्दैन । कांग्रेस सत्तामा बसोस् या त प्रतिपक्षमा बसोस् । कांग्रेस सिद्धान्तमा उभिने पार्टी रहनुपर्छ, कांग्रेस सांसद रिजालले भने,‘त्यसैलाई मूल आधार बनाएर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्छ ।
यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो ।
बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन ।