• बैशाख २२ २०८३, मंगलवार

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनको अन्तरिम आदेश

फाल्गुन १ २०७८, आईतवार

काठमाडौँ। । उच्च अदालत पाटनले बतास ग्रुपलाई पशुपतिको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश नरिश्चर भण्डारीको एकल इजलासले बतास ग्रुपलाई धर्मशाला सञ्चालन गर्न रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ ‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम हाटेल आनन्द प्रा.लि.को सञ्चालनमा कुनै बाधा, अवरोध सिर्जना नगर्नू, नगराउनु भनी विपक्षीहरुको नाउँमा अल्पकालीन आदेशसमेत जारी गरिदिएको छ ।’

इजलासले फागुन ९ गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । साथै, अन्तरिम आदेश टुंगो नलाग्दासम्म बतास समूहलाई यसअघिको सम्झौताबमोजिम कामकारबाहीमा बाधा अड्चन नगर्न पनि आदेश दिइएको छ ।

यसअघि धर्मशाला सञ्चालनबारे अनगुमनमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले होटेल सञ्चालन गर्न अनुमति पाएको बतास ग्रुपको इजाजत खारेज गरिदिएका थिए ।