• बैशाख २१ २०८३, सोमबार

जनयुद्ध दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा

माघ २८ २०७८, शुक्रबार

काठमाडौं । मधेस प्रदेश सरकारले यही फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

नेपाललाई रुपान्तरण नै गर्ने गरी भएको १० वर्षे सशस्त्र जनयुद्धको पहल गरेको दिन फागुन १ गतेको सम्मानमा मधेश प्रदेशमा विदा दिन प्रदेश सरकारले निर्णय गरेको हो ।

विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको जनाइएको छ ।