• मंसिर १४ २०८१, शुक्रबार

कोभिड–१९ आएलगत्तै मरेकी महिलाको मृत शरीर तीन बर्षपछि भेटियो

माघ २८ २०७८, शुक्रबार

काठमाडौं । इटालीको उत्तरी भागमा पर्ने लोम्बार्डीस्थित कोमो सहरकी एकजना महिलाको शव उनको घरभित्रै कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ । उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको उनको फेरेन्सिक जाँचमा देखिएको हुनाले कोभिड–१९ को आगमनसँगै भएको हुनसक्ने अनुमान गरिएको छ ।

म्यारिनेल्ला बेरेट्टा नाम गरेकी ती महिलाको दुई वर्ष अगाडि नै मृत्यु भएको तर अहिलेसम्म कसैले थाह हुन नसकेका कारण कुर्सीमै रहिरहेको अवस्थामा उनको कंकालसहितको शव फेला परेको हो ।

बेरेट्टा आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् । त्यति बेला कोभिड–१९ को महामारीका कारण कोही पनि एकअर्काको घरमा जाने र भेटघाट हुने वातावरण नै थिएन । छिमेकीहरु पनि आवतजावत गर्ने अवस्था थिएन ।

३ वर्षपछि मात्र आएर उनको घरको बगैँचामा रुख ढलेको, साना रुखविरुवा बढिसकेका र घाँसले घर वरिपरि ढाकिसकेको देखेपछि छिमेकीहरू सरकारी कर्मचारीहरुलाई खबर गरेका थिए । खबर पाए लगत्तै घरको परिसरमा पसेका ती कर्मचारीले घरभित्र जाँच गरेका थिए ।

कर्मचारीले निरीक्षण गर्दा घरभित्र महिलाको शव फेला परेको थियो । । बेरेट्टाको शव लिभिङ रुमको कुर्सीमा बसिरहेको अवस्थामा कुहिएको फेला परेको थियो । कुहिएको शरीर जाँचपछि उनको मृत्यु सन् २०१९ को अन्त्यतिर भएको हुनसक्ने अनुमान गरिएको हो ।

त्यति बेला कोभिड–१९ को महामारी चर्को अवस्थामा रहेको भए पनि उनको मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भैरहेको छ । उनका कुनै आफन्त भएनभएको पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

स्थानीय कोमो नगरपालिकाले उनको शवको अन्त्येष्टीको कार्यक्रम आयोजना गर्ने निर्णय गरिसकेको छ । साथै, पालिकाको तर्फबाट स्थानीय वासिन्दाहरुलाई उनको अन्त्येष्टि समारोहमा सहभागी हुन सार्वजनिक रुपमा अनुरोध गरिसकेको छ ।