• बैशाख २१ २०८३, सोमबार

एमसीसी सभामुखले रोक्न मिल्दै, संसदबाट बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

माघ २७ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सभामुखले रोक्न नमिल्ने बताउदै संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् ।

बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् ।

‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीबारे फैलाइएको भ्रम पनि संसदबाटै चिरिने भन्दै आगामी संसद बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निश्कर्ष रहेको जानकारी दिए ।

‘त्यसका लागि काँग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौ भन्नुभएको छ’, महतले सञ्चारकर्मीमाझ भने ।

साथै बिहीबारको बैठकमा स्थानीय निर्वाचनमा काँग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको छ । बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।