काठमाडौं । जर्मनी पठाउँछु भनेर ३६ जना व्यक्तिहरुबाट अनेक वहानामा ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा घर भएकी डा.क्रिष्टिना गुरुङ भन्ने क्रान्ति राना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ३६ युवकले दुई करोड ३१ लाख ठगी गरेको भनेर उजुरी दिएका छन्। कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् ।
सुरुमा स्वयम्भु वृत्तले उनलाई १४ लाख ठगी घटनामा पक्राउ गरेको थियो। थप अनुसन्धान गर्ने क्रममा उनले आफुलाई डा.क्रिष्टिनाका नाममा धेरैलाई ठगी गरेको खुलेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ अन्तर्गत दफा २४ ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसूर अन्तर्गत मुद्दा अघि बढाएको छ।
उनको वाफल स्थित डेराकोठाबाट बिभिन्न व्यक्तिहरुका थान– २१ राहदानी नाता प्रमाणित प्रमाण–पत्र, अविवाहित प्रमाण–पत्र, प्रहरी चारित्रिक प्रमाणपत्रहरु समेत बरामद भएको छ। उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।