काठमाडौं । भोलि (बुधबार) बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संसद सचिवालयले विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।
आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
भोलि दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत तय भएको थियो ।
एमसीसी टेबुल गर्नको लागि सरकारले भोलि कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो ।
सरकारले एमसीसी अगाडि बढाउन खोजेपनि सभामुख सापकोटाले संसदको अवरोध हट्ने पर्ने र एमसीसीबारे दलहरुबीच सहमति हुनुपर्ने शर्त बनाउँदै आएका थिए ।
माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय कमिटीबाट निर्णय लिने भन्दै केन्द्रीय कमिटीको बैठकसम्म समय दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग समय माग गरेको थियो । माओवादी केन्द्रीय कमिटी बैठक माघ २८ गते बस्दैछ ।