• बैशाख २१ २०८३, सोमबार

बेलायतले नेपाललाई पठाएको ८ लाख ६२ हजार ८० डोज आज आइपुग्यो

माघ २४ २०७८, सोमबार

काठमाडौं । बेलायतले नेपाललाई पठाएको ८ लाख ६२ हजार ८० डोज कोराना भाइरस विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुखले जानकारी दिए।

उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ। अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ।

नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ । ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।