• बैशाख २० २०८२, शनिबार

जीप दुर्घटनामा परेका ८ जना मृतकको सनाखत, बेहुली हात चुँडिएर गम्भीर अवस्थामा

माघ २२ २०७८, शनिबार

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा मुत्य भएका ८ जनाकै सनाखत भैसकेको छ । बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप बेहुलाको घर नजिकै आइपुग्दा दुर्घटना हुन गई त्यसमा सवार ८ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरीले बताएका छन् ।

जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगरको पनि मृत्यु भएको खनाखतमा खुलेको छ । अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी रहेको खुलेको छ ।

पालिका अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परी बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा निकै गम्भीर हुन पुगेकी बेहुलीाके एउटा हात नै चुँडिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल अस्पतालमा पठाइएको छ । बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

हिमपात र वर्षा भैरहेका बेला बाटो निकै चिप्लो हुनु र रातको समय हुनुका कारण दुर्घटना हुन गएको सबैको प्रारंभिक आँकलन रहेको छ । घटनास्थल सदरमुकाम तथा इलाका प्रहरी कार्यालय भन्दा टाढा रहेकाले उद्धारमा ढिलाइ हुन गएाके थियो । यसैका कारण हताहतीको संख्या बढ्न गएको थियो ।