• बैशाख १९ २०८२, शुक्रबार

उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगको निर्देशन

माघ २० २०७८, बिहीबार

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई सामाजिक सद्भावमा खलल पुर्‍याउने उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी आयोगका अध्यक्ष तथा सदस्यहरूले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको जानकारी दिएका हुन् ।

‘आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले मन्त्री रेणुकुमारी यादवलाई केन्द्रीय ​कार्यालयमा बोलाएको थियो । त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगले जनाएको छ।

गौरमा मन्त्री यादवले अभिव्यक्ति दिएपछि विभिन्न क्षेत्रबाट आलोचना भएको थियो । आयोगलाई मन्त्री यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित वा पूर्वाग्रही नरहेको बताएकी थिइन् । उनले आगामी दिनमा त्यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको पनि आयोगले जनाएको छ।