यो जगतको प्रत्येक पति समाजमा जति नै इज्जतदार, विद्वान र दार्शनिक कहलिए पनि पत्नीका लागि एक नासमझ र साधरण सहजीवी मात्र हो । मेरो जीवन साथीको समाजमा ठूलो मानमनितो छ, सबैले कदर गर्छन्, ऊ बडो सम्मान गर्न योग्य मानव हो भनेर घरमा स्वागतद्वार बनाएर को बस्छ र ?
सुकरात रातबिरात लुरुलुरु घर आउने गर्थे । भित्र पस्नासाथ पत्नीले कलह सुरु गर्थिन् । तर, अभियुक्त बोले पो अभियोग लगाउनुको पनि मजा हुन्थ्यो ? पति मौन बसेको देखेर पत्नीको क्रोधको पारा झन् आकासमा पुग्थ्यो ।
एक दिन कति करकर सुनेर बस्नु भनेर चुपचाप बाहिर निस्कन थालेका सुकरातको टाउकामाथि पत्नीले घडाभरिको फोहोर पानी खन्याइदिइन् । तथापि, उनले कुनै प्रतिकार गरेनन् । सुकरात समाजमा चलिरहेको आडम्बर, प्रश्नहीन धर्मान्धता र रुढीवादको कटु आलोचना गर्दथे ।
सामाजिक र धार्मिक परम्परामाथि प्रश्न गर्ने, समाजको जो कोही व्यक्तिलाई बराबरीको दर्जा दिएर घुलमिल र छलफल गर्ने तथा युवाहरूलाई ज्ञानी र गुणी व्यक्तिको मात्र सम्मान गर्नु भनेर सिकाउने गरेको हुँदा उनले प्रशस्त दुश्मन पनि कमाएका थिए ।
‘नास्तिक बनेको, ईश्वरको अवमानना गरेको र युवाहरूलाई भड्काएको’ आरोपमा उनी सत्ताको कर्के नजरमा परेका थिए । युवाहरू आफ्नो मनमा उठेका जिज्ञासा लिएर सुकरातकहाँ पुग्थे । सुकरातको घरको दुश्चरित र कलहपूर्ण परिस्थिति देखेर शिष्यहरू दिग्दार हुन्थे ।
शिष्यहरूसँग छलफलमा निमग्न सुकरात पत्नीले बारम्बार बोलाएको पनि सुन्दैनथे । भनिन्छ, त्यही झोंकमा पत्नीले हानेको तातो चियाको दाग सुकरातको गालामा स्थायी चिनोका रूपमा रह्यो ।
शिष्यहरू भन्ने गर्दथे, ‘यतिसम्म हुँदा पनि हामीलाई विवाह गर्नुपर्छ भनेर किन प्रेरणा दिनुहुन्छ गुरुदेव ?’ सुकरातको सहज र सुल्झेको उत्तर थियो, ‘जुनसुकै हालतमा बिबाह त गर्नैपर्छ । यदि असल जीवनसाथी पायौ भने तिम्रो जीवन प्रेमले ओतप्रोत र मोहनीय हुनेछ ।’
सुकरात थप्छन्, ‘रसिकतायुक्त आत्मीय प्रेम मानवजीवनको सबैभन्दा आदर्श अवस्था हो । संयोगवश मेरोजस्तै जीवनसाथी पायौ भने तिमी झनै फाइदामा हुनेछौ । त्यसबाट तिमीमा वैराग्यको अभ्युदय हुनेछ ।’
सुकरात पीडाको संश्लेषण गर्छन्, ‘वैराग्य प्रेमभन्दा पनि उच्च मानवीय अवस्था हो । वैराग्य नै परमात्माको नजिक पुग्ने सबैभन्दा सही बाटो हो । यस माध्यमबाट तिमी एक दार्शनिकसमेत बन्नेछौ ।’
बिबाहले जीवनलाई सुखमय र रमणीय बनाउँछ भन्ने सार्वभौम मान्यता छ । वैवाहिक जीवन सभ्यताले आविष्कार गरेको सर्वाधिक अनौठो र युगान्तकारी उपक्रम हो । विवाह संस्था नभएको भए मानव इतिहास यो रूपको हुने थिएन ।
त्यस अवस्थामा मनुष्य सामूहिक परिचयमा सीमित हुने थियो । न वंश, न कुल, न खान्दानी पहिचान र न त पूर्वजको गौरव । तथापि, पश्चिममा वैवाहिक संस्कृतिको विरोध गर्ने र सो परिपाटीको कटु आलोचना गर्ने थुप्रै मनीषी पहिले पनि थिए र अहिले पनि छन् ।
पक्षपातरहित तवरले विचार गर्दा सुकरातजस्ता दार्शनिक वैवाहिक जीवनका लागि अयोग्य व्यक्ति हुन् । उनका चेला प्लेटो परिवारको (वैवाहिक) साम्यवादका पक्षधर थिए र स्वयं आजीवन अविवाहित रहे ।
थोमस हब्स, जोन लक, एडम स्मिथ, ह्युम, रेने देकार्त, स्पिनोजा, बेन्थम, कान्ट, सोपेनहावर, फ्रेडरिक नित्से आदि दार्शनिक र चिन्तक आजीवन अविवाहित रहे ।
संयोग नै मान्नुपर्छ प्रायः पश्चिमा दार्शनिक अविवाहित, असफल प्रेमी र दुःखदायी वैवाहिक जीवनका भागी भए । दार्शनिक र चिन्तक आफ्नै धुन र लहडमा मस्त रहने हुँदा उनीहरूले परिवारलाई समय दिन सक्ने अवस्था हुँदैन ।
आफ्नै सुर र तरंगमा रातभरि पूर्णिमाको चन्द्रमा हेरेर बस्ने र पाएको तलब र लाएको कोट माग्नेलाई दिएर रित्तै र नांगै घर पुग्ने सनकी कवि लक्ष्मीप्रसाद देवकोटाको धर्मपत्नी हुनु कम्ता सकसको कुरा थिएन । परन्तु, यस्ता निपट एकलकाँटे मानिसहरूले नै हो मानव सभ्यतालाई वैज्ञानिक आविष्कार, चिन्तन, काव्य र दर्शनरूपी अमर उपहार दिने ।
सुकरात भौतिक रूपमा कुरूप थिए । आजको जमानामा जस्तै उस बखत पनि दैहिक सौन्दर्यको ठूलो महत्व थियो । सुकरातलाई ज्ञान थियो कि असुन्दर व्यक्तिले सद्गुणको आवरणले आफ्नो भौतिक कुरूपतालाई छोप्नुपर्छ ।
एकतर्फ कुरूप अनुहार, अर्कोतर्फ गरिबी र व्यक्तिगत निठल्लापन । सुकरात झुत्रा र थांना लुगा पहिरेर खाली खुट्टा यत्रतत्र हिँड्थे । उनी बजारमा बेच्न राखेका सामनहरूको अहिल्यै किन्छन् कि जस्तो गरेर जाँच परख र मोलमोलाइ गर्थे ।
उनलाई कसैले सोध्दथ्यो, ‘जब किन्नु नै छैन त केको मोलतोल ?’ सुकरात हाँस्दै सरल उत्तर दिन्थे, ‘जब म बजारमा घुम्न निस्कन्छु र अनेकौं मूल्यवान् वस्तुहरू देख्छु, मलाई बडो आनन्द लाग्छ । म आनन्दित हुन्छु किनकि संसारका यतिका धेरै सुन्दर र महँगा वस्तु नपाउँदा पनि म खुसी भएर बाँच्न समर्थ छु ।’
सुकरात आफ्नो समयका सबैभन्दा ज्ञानी, बुद्धिमान र जान्ने व्यक्ति थिए । उनी जति जान्दै र बुझ्दै जान्थे, त्यति नै जान्न र बुझ्न बाँकी कुराहरूको दायरा फराकिलो हुँदै जान्थ्यो । त्यसैले उनी भन्ने गर्थे, ‘म एउटै कुरा जान्दछु, त्यो हो म केही पनि जान्दिनँ ।’
एक दिनको कुरा हो । सुकरातले बडो तन्मयतापूर्वक ऐना हरिरहेका थिए । गुरुले अत्यन्त ध्यानपूर्वक ऐनामा अनुहार नियालिरहेको देखेर उनको शिष्य मुस्कुराउन थाल्यो ।
सुकरातले प्रिय शिष्यतर्फ हेर्दै भनेका थिए, ‘तिमी मुस्कुराउनुको कारण मलाई थाहा छ युवक ! तिमी सोच्दै छौ कि यस्तो कुरूप मानिसले ऐना हेर्नुको कुनै प्रयोजन छैन ।’ युवक लज्जित हुँदै शिर झुकाएर बसिरह्यो ।
सुकरात अगाडि भन्दै गए, ‘म जति ऐना हेर्दै जान्छु, मलाई मेरो कुरूपताको ज्ञान झनै ताजा हुँदै जान्छ र म मेरो बीभत्स वास्तविकताको बोध गर्दै जान्छु । अनि म सोच्दछु, कुनै यस्तो असल कर्म गरौं कि मेरो त्यो सत्कर्मको आवरणले कुरूप अनुहार छोपियोस् ।’
युवक सुकरातको जिज्ञासु चेलो थियो । उसले भन्यो, ‘यदि त्यसो हो भने त सुन्दर मानिसले ऐना हेर्नु नै परेन ।’ सुकरातले शिष्यतर्फ हेर्दै भने, ‘हे प्यारो युवक ! कुरा त्यस्तो होइन । सुन्दर अनुहार हुनेहरू असुन्दरभन्दा ज्यादा जोखिममा हुन्छन् । सुन्दरता अहंकारको जननी हो ।’
सुकरातको भनाइमा ‘अहंकारको जालोमा बेरिएको मनुष्यले त्यही दैहिक सुन्दरतालाई नै जीवनको सर्वगुण सम्झेर सद्गुणी मार्गको परित्याग गर्ने सम्भावना प्रबल हुन्छ । त्यसैले सुन्दर मानिसले आफूलाई सदैव खराब काम गर्नबाट जोगाउनुपर्छ ।’
सुकरातको निष्कर्ष छ, ‘सौन्दर्यको दम्भमा मदमस्त हुँदै सद्गुण बिर्सेर दुर्गुणको विकास गर्न पुगियो भने त्यही दुर्गुणरूपी कालिमाको आवरणले सुन्दरतालाई छोपेर कुरूप तुल्याइदिन्छ ।’
दार्शनिक, चिन्तक र आविष्कारक आफ्नो चिन्तन, लेखन र प्रयोगको दत्तचित्तताले गर्दा एकान्त मन पराउन थाल्छन् । कर्मलाई नै सुखदुःखको साथी बनाएका आफैमा मगनमस्त त्यस्ता व्यक्ति असल जीवनसाथी बन्न गाह्रो छ ।
वास्तवमा त्यस्ता व्यक्ति दाम्पत्य जीवनको प्रसंगमा भयावह सहजीवी हुन् । आफ्नै स्वास्थ्य र निजी जीवनप्रति बेपरवाह उनीहरू सामाजिक र पारिवारिक दायित्व निर्वाह गर्न विफल हुन्छन् ।
इतिहास साक्षी छ, त्यस्ता मानिस व्यावहारिक हुँदैनथे, प्रायः पुलिसको निगरानीमा हुन्थे र घरपरिवारका मानिसहरूलाई हैरानी दिन्थे । सुकरात त्यस्तै ‘पगला’हरूका प्रमुख प्रतिनिधि पात्र हुन् ।
सुकरात घर पुग्नेबित्तिकै पत्नी भन्ने गर्थिन्, ‘तिमी यस घरमा सामान होइन, समस्या बोकेर आउँछौ ।’ गुरुपत्नीको निरन्तरको ताडना र शब्दवाण सुनेर हैरान परेसान भएको एक जना चेलाले सुकरातलाई भनेको थियो, ‘यो तपाईंको बुढी बोक्सी हो बोक्सी !’
तर सुकरातले भनेका थिए, ‘तिमी नितान्त गलत छौ युवक ! मेरी सहचरी मेरो शिक्षक हुन् । उनी मेरो जीवनकी नियामक हुन् । मेरी जीवनसँगिनी हमेसा मेरो परीक्षण र जाँच परख गरेर पत्तो लगाउँछिन् कि म कति कच्चा, पक्का या सहनशील छु ।’
सुकरात आँखा तेजिला पार्दै गौरवसाथ भन्दथे, ‘जो मेरी धर्मपत्नीलाई झेल्न सक्छ, त्यसले पूरा एथेन्सलाई तह लगाउन सक्छ ।’