काठमाडौँ। वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई नक्कली पिसीआर रिपोर्ट दिने अस्पतालका सञ्चालक र विचौलिया पक्राउ परेका छन्।
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका सञ्चालक र बिचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको परिचयपत्र भएका रोशनकुमार छिट्टान, सोही अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झा, काठमाडौंको तिनकुनेमा रहेको कान्तिपुर अस्पतालको कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादव र सोही अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली रहेका छन्।
उनीहरूले नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने विशेष सूचनाको आधारमा महाशाखाले अनुसन्धान थालेको थियो ।
राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा पक्राउ पर्नेहरूको साथबाट पिसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरणहरू र पिसिआर परीक्षणको दर्ता रजिस्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास भइरहेको छ।
दुवै अस्पतालका ल्याब सिल गरी पिसीआर सम्बन्धी सबै सेवा बन्द गरिएको छ।
अस्पतालले केही बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिएको र सामुहिक स्वाब संकलन गर्न प्रयोग गरेको खुलेको छ।
विचौलियहरुले आफ्नै स्वाव संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ।