काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढाउँदै गएको नेपाल आयल निगमले अझै पनि महिनाको साढे ४ देखि ५ अर्बसम्म ऋण चाहिने अवस्था रहेको जनाएको छ । निगमले विज्ञप्ति जारी गरी सानो अंश मात्रै मूल्य समायोजन गरिएको जनाएको हो । आझै पेट्रोल तथा डिजेलमा ठूलो रकम नोक्सानीमै रहेको निगमले दाबी गरेको छ।
निगमका अनुसार मूल्य समायोजनपछि अब पाक्षिक (१५ दिनको) घाटा २ अर्ब २३ करोड यथावत् रहने छ । निगमले यस्तै अवस्थामा आपूर्ति व्यवस्था सहज बनाइराख्न कठिनाई रहेकाे समेत जनाएको छ ।
‘पेट्रोलियम पदार्थ खरिदवापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनमा निगमलाई कठिनाई हुने देखिन्छ ।’ विज्ञप्तिमा भनिएको छ। हिजो रातिबाट मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको थियो ।
सो मूल्य वृद्धिपछि अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा र डिजेलमा ११ रुपैयाँ १३ पैसा नोक्सानी रहेको निगमको दाबी छ । निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ घाटा छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा रहेको पनि निगमले स्पष्ट पारेको छ । मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयााँ ५० पैसा र वाह्य हवाई इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा रहेको छ ।
मूल्य बढेपछि पनि भारतको सिमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा र डिजेल २५ रुपैयाँ ३१ पैसा सस्तो रहेको निगमको भनाइ छ । हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ ।