काठमाडौँ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा कुनै पनि दस्तावेज गोप्य नराखिएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै समितिले आफ्नो संस्था हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको बताउँदै सम्झौताका सबै कागजात वेभसाइटमा रहेको उल्लेख गरेको हो ।
‘एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ,‘एमसिए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीसी–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुन्छ’
एमसीसी परियोजनामार्फत बन्ने राष्ट्रिय प्रसारण लाइनमा पर्ने ३२ वटा गाउँपालिका तथा नगरपालिकामा सार्वजनिक सुनुवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐन अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’ लाई समेत गोप्य भन्नु आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु रहेको समितिले बताएको छ । साथै गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको समेत समितिले जानकारी गराएको छ ।