• मंसिर १८ २०८१, मंगलवार

आफूलाई मोसो दल्ने विप्लव नेकपाका कार्यकर्तालाई अधिकृतले उल्टै दिए यस्तो चुनौती

माघ १८ २०७८, मंगलवार

काठमाडौँ । खुला राजनीतिमा आएपछि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विभिन्न ठाउँमा अनियमितता गर्नेहरुलाई सामाजिक कारवाही गर्दै आएका छन् । उनीहरुले अनियमितता तथा भ्रष्टाचार गर्नेहरुलाई सार्वजनिक स्थानहरुमा कालोमोसो दल्ने, जुत्ताको माला लगाइदिने लगायतका कार्यहरु गर्दै आएका छन् । यस्तै कार्यक्रम गर्ने क्रममा उनीहरुले मंगलबार कैलाली जिल्लामा एउटा घटना घटाए ।

सो पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका छन् । डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत पण्डितलाई उनीहरुले कार्यालय परिसरमै पुगेर कालोमोसो दलेको बताइएको छ ।

उता नेकपा कार्यकर्ताले आफूलाई कालोमोसो दलेको तस्विर सामाजिक संजालहरुमा साझा गर्दै अधिकृत पण्डितले आफूलाई कालोमोसो दल्नेहरुलाई उल्टै चुनौती दिएका छन् । सो पार्टीका ‘केहि व्यक्तिहरुले दिएको उपहार’ भन्दै कैलाली डिभिजन वन कार्यालय अन्तर्गत पचमुडिया सव डिभिजन कार्यालयमा कार्यरत रहँदाको ‘अविस्मरणीय क्षण’ भनेर उनले सो कालोमोसो दलिएको क्षणलाई लक्षित गरेर यस्तो बताएका छन् ।

अधिकृत पण्डितले सामाजिक संजालमा गरेको पोष्टको तस्विर
अधिकृत पण्डितले सामाजिक संजालमा गरेको पोष्टको तस्विर

यसरी कार्यालय परिसरमै आएर आफूलाई कालोमोसो दल्नेहरुलाई उनले उल्टै समाज रुपान्तरणको लागि खुला बहस गर्न चुनौती दिएका छन् । सामाजिक संजालमा तस्विर सहित आफ्नो भनाई साझा गर्दै उनले भनेका छन्, ‘समाज रुपान्तरणका लागि औकात छ भने खुला बहस गर्न चुनौती दिन्छु ।’ चरित्रमा दाग नलागुन्जेलसम कसैले शरीरमा अनेकौं रङ पोतेर केही फरक पर्नेवाला छैन भन्दै ‘मारिएन छु भने’ भन्दै उनले भनेका छन्, ‘चरित्रमा दाग नलागुञ्जेलसम्म अन्य अनेकौं रङहरु पोतेर केही फरक पर्नेवाला छैन, मारिएन छु भने ।’

उनले आफूले देश र जनताको विपक्ष र विरुद्धमा कुनैपनि काम नगरेको यदि गरेको भए संवैधानिक निकायहरु सहित जनअदालतको कठघरामा उभिन तयार रहेको भन्दै ‘एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने’ बताएका छन् । कालोमोसो दलिएको भनिएको भएपनि सामाजिक संजालहरुको देखिएका उनका तस्विरहरुमा उनको अनुहारमा निलो मोसो दलिएको देखिएको छ ।

उता गोलखबडटकमको सम्पर्कमा आएका नेकपा कैलालीका एक नेताले वन अधिकृतको हैसियतमा पण्डितले जनताहरुलाई सताउने कार्य गरेको, पूर्वाग्रही भएर कार्य गर्ने गरेको आफूहरुको जानकारीमा आएको बताए । स्थानीय जनता र स्थानिय पार्टी मिलेर पण्डितलाई चेतावनी स्वरुप सामान्य कारवाही गरेको हुनसक्ने भन्दै सम्पर्कमा आएका ती जिल्ला नेताले पण्डितलाई थप चुरिफिरी नगर्न चेतावेनी दिए ।

आफनै कार्यालयको अनियमितता र भ्रष्टाचार रोक्न नसक्ने कर्मचारीले के को समाज रुपान्तरणको कुरा गरेका होलान भन्दै,‘समाज रुपान्तरण गर्न र राजनैतिक प्रतिस्पर्धा गर्न मन लागेको भए सरकारी जागिर छाडेर आफ्नो असली रुपमा आए भैगो नि’ उनले भने । जे गर्नु गरेको कामको परिणाम र जनतालाई सताएको तथा धम्क्याएको स्वरुप भएको हुनसक्ने सामान्य कारवाहीबाट सच्चिएर काम गर्न पण्डितलाई ती नेताको सुझाव छ ।