• बैशाख १८ २०८२, बिहीबार

एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने

माघ १७ २०७८, सोमबार

काठमाडौ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आज (सोमबार) बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसङ्गठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटिहरूलाई तयारीमा जुट्न निर्देशन दिएको पनि सचिव भट्टराईले बताए ।

बैठकले सचिवालय बैठकमा पेस गर्ने एजेन्डा पनि तय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मत संख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय गरिएको छ ।

यसैगरी, १६ जिल्लाबाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।