काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी समितिको बैठकले एमसीसी, भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
“१५ माघ २०७८ मा सम्पन्न हाम्रो पार्टीको स्थायी समितिको बैठकले देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रूपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गम्भीरतापूर्वक आत्मसात् गरी यही माघ २१ गते देशव्यापी रूपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको छ,” पार्टीका महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।