• मंसिर १८ २०८१, मंगलवार

जेठमै मरिसकेका विष्टलाई अदालतले माघमा सुनायो २० वर्षे सजायको फैसला

माघ १५ २०७८, शनिबार

काठमाडौँ । नेपालकै एउटा अदालतले मृत्यु भइसकेका मानिसलाई जन्मकैदको फैसला सुनाएको छ । कर्णाली प्रदेशको दैलेख जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । कर्तव्य ज्यान मुद्दा चलिरहेको बेला मृत्यु भएका कसुरदार शेरबहादुर विष्टलाई दैलेख जिल्ला अदालतले २० वर्षको जन्मकैद सुनाएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।

जन्मकैद सुनाइएका डुङ्गेस्वर गाउँपालिका वडा नम्बर १ बेलापाटाका विष्ट विरुद्ध मुद्दा चलिरहेको समयमा ७५ वर्षको उमेरमा गत जेठ २८ गते सुर्खेतमा उनको मृत्यु भइसकेको छ । घटना अनुसार २१ वर्ष पहिले उनले सोही गाउँपालिका वडा नम्बर २ कि तत्कालिन समयमा २५ वर्षकी युवतीलाई हत्या गरेका थिए । उनलाई सोही अभियोगमा मुद्दा चलेको थियो ।

२१ वर्ष पहिले २०५७ साल फागुनमा ती युवतीलाई बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा २०७७ साल पुष ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोगमा उनलाई मुद्दा चलेको थियो । विष्ट घटना घटेको भोलिपल्टदेखि प्रहरीको नजरबाट लुक्दै छिप्दै आएपनि सिकिस्त बिरामी परेपछि देखिएर २०७७ साल असोजदेखि सुर्खेतमा बसोबास गर्दै आएका थिए ।

श्रेस्तेदार कार्कीका अनुसार जीवित छँदा गरेको अपराधमा सजाए गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाए असुल गर्न नपर्ने ठहर्ने अदालतको फैसलामा व्याख्या गरिएको छ ।