काठमाडौँ। नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ सुरु सुरु भएको हो।
सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की र शर्माको संयुक्त इजलासमा सुनुवाइ तोकेको थियो। यसअघि उनको मुद्दाको सुनुवाइ तोकिए पनि सुनुवाइ रोकिँदै आएको थियो।
आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्।