• मंसिर १३ २०८१, बिहीबार

उल्टै सरकारको आयस्रोत बन्दै आयल निगम

माघ १० २०७८, सोमबार

फेरि पनि पेट्रोलियम पदार्थमा कर बढाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप तीन रुपैयाँ बढाइएको छ । आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ कायम गरिएको को छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको छ ।

कुरा मूल्य वृद्धिको हो । २०७८ साल वैशाखदेखि माघ पहिलो सातासम्म निगमले मूल्य समायोजनका नाममा पेट्रोलियम पदार्थको मूल्य ११ पटक बढाइसकेको छ ।

औंला भाँचेर गन्दा पनि वैशाख ४, जेठ २, जेठ २३, असार ९, असार २२, असार ३०, भदौ ७, कात्तिक १२, कात्तिक २५ र माघ ५ गरी निगमले मूल्यवृद्धि गरिरहेको छ ।

यसको एक मात्र कारणका रुपमा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा कारोबार गरिने पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुन गएकाले भन्ने गरिएको छ । नेपाल आयल निगममा स्टक रहेको तेलमा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो भन्दै जथाभावी मूल्य बढाएर खाने प्रचलन बसेको छ ।

आयल निगममा यो खान्कीखुराक सम्बन्धित मन्त्रीको भान्सासम्म पुग्छ । राजनीतिक दलका नेताहरुको त आयल निगम निरन्तर दोहन गरेर खाने आयस्रोत बन्दै आएको छ । त्यसैले पनि निगमका कर्मचारीले सरकारलाई पनि पत्याउन छाडेका छन् ।

यता पेट्रोलियम पदार्थको भाउ बढिरहेको हुन्छ । उता निगमका कर्मचारीले हरेक वर्ष बोनस बाँडेर खाइरहेका हुन्छन् । अनि भनिरहेका हुन्छन्– आयल निगम करोडौंको घाटामा छ ।

सरकारले योग्य मानिसलाई आयाल निगमको निर्देशकमा नियुक्ति दिदैन । आफ्ना आसेपासे र किचनका मानिस पठाउँछ । कुरा, ‘आयल’ भन्दा पनि ‘खायल’ निगमको हो ।

बैशाख ४ गते १२१ रुपैयाँ रहेको प्रतिलिटर पेट्रोलको भाउ ११औं पटक बढाउँदा १३९ रुपैयाँ पुगिसकेको छ । त्यतिखेर १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ ।

बेलगाम र मनपरि हुने गरिरहेको मूल्य बृद्धिले यात्रु भाडासहित दैनिक चुल्हो बाल्ने समस्या उत्पन्न गराएको छ ।