काठमाडौँ । ओमिक्रोनको प्रकोपमा परेर संसारले अहिले कहर काटिरहेको छ । कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनले संसारको जनजीवनलाई प्राभावित बनाएर कहरमा पठाएको तथ्य सबैलाई थाहा नै छ । ओमिक्रोनको संक्रमण बढेपछि प्रायःजसो देशहरुले बन्दाबन्दी लागु गरेका छन् ।
हाम्रो देशमा भने स्मार्ट लकडाउन भनेर जनजीवन त्यति धेरै प्राभावित बनेको छैन । यद्यपी संक्रमण डर भने व्यापक हुँदै गएको देखिन्छ । ओमिक्रोनको प्रकोपले कयौं निर्धारित काम र तालिकाहरु परिवर्तन भएका छन् । ओमीक्रोनको चपेटामा परेर निर्धारित विभिन्न कार्यक्रम स्थगित हुने अन्तर्गत न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डेनको विवाह नै रोकिएको छ ।
समाचार संस्था रोयटर्सले बताए अनुसार प्रधानमन्त्री आर्डेनले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो विवाह तत्कालका लागि रद्द भएको जानकारी दिएकी छन् । न्यूजिल्याण्डमा एउटा विवाह समारोहमा सहभागी भएका ९ जना नागरिकहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएपछि आइतबार मध्यरातिदेखि त्यहाँ प्रतिबन्धहरु लागू हुंदैछन् ।
त्यो देशमा पनि ओमिक्रोन देखिएपछि मास्क अनिवार्य गर्ने देखि एक ठाउँमा सयजनाभन्दा बढी भेला हुन नपाइने नियमहरु लागु हुंदैछन् ।
प्रधानमन्त्री आर्डेनको विवाह कहिले हुँदै थियो भन्ने एकिन मिति सार्वजनिक नगरिएको भएपनि उनको छिट्टै विवाह हुने चर्चा भने रहेको थियो । नयाँ प्रतिबन्धहरु लागु हुने भएपछि प्रधान्मन्त्री आर्डेनले पनि आफ्नो विवाह रद्द गरेकी हुन् ।
एक टिभि च्यानलमा कार्यक्रम प्रस्तोता रहेका काल्र्क गेफोड नाम गरेका व्यक्तिसँग प्रधानमन्त्री आर्डेन सम्बन्धमा रहेकी छिन् । उनीसँगको सम्बन्धबाट आर्डेनले तीनवर्ष अघि नै एउटा छोरी जन्माएकी थिइन् । उनीहरुले ती छोरीको नाम नेभ टे अरोहा राखेका छन् ।
आर्डेन प्रधानमन्त्री हुँदै दुइवर्ष अघि उनेहरुले इन्गेजमेण्ट भने गरिसकेका छन् । संसारमा प्रधानमन्त्री पदमा बहालहुँदै बच्चा जन्माउने आर्डेन दोस्रो व्यक्ति हुन् । प्रधानमन्त्री पदम बहाल रहंदै बच्चा जन्माउने पहिको व्यक्ति भने पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टो हुन् ।