• मंसिर १३ २०८१, बिहीबार

नेपालमा डिम्याट खाता खोल्नेको संख्या अहिलेसम्मकै उच्च

माघ ८ २०७८, शनिबार

काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको संख्या अहिलेसम्मकै उच्च हुन पुगेको छ । यो संख्या अहिले ५० लाख पुग्न थालिसकेको छ ।
सीडीएसी क्लियरिङ हाउसका अनुसार ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलिसकेका छन् । यो हालसम्मकै उच्च संख्या हो ।

तीमध्ये अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले ‘मेरो सेयर खाता’ खोलिसकेका छन् । नेपालमा कोरोना महामारी फैलिदै गर्दा देखिएको जनताको चासो अहिले बढेर गएको छ ।

कोरोना महामारी फैलदै जाँदा नेपालको एउटा तप्का इन्टरनेट तथा सामाजिक सञ्जालमा अभ्यस्त हुँदै गयो । युवा पंक्ति यसमा अलि बढी चासो दिएर लागिपर्न थाल्यो ।

युवाहरुको सेयर बजारप्रति आकर्षण पनि बढ्दै गयो । यसले शेयरप्रतिको चासो सर्वसाधारणसम्म पुर्याउन ठूलो मद्दत गर्यो । यसै कारणले पनि हो, सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु अर्थात् ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाउन सफल भएको छ ।

यो उचाइसँगै दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार हुने अवस्था पनि सिर्जना भएको थियो ।