• बैशाख ६ २०८२, शनिबार

मूल्यवृद्धिको क्रान्तिकारीद्वारा चर्को विरोध

माघ ६ २०७८, बिहीबार

काठमाडौँ । अखिल क्रान्तिकारीले देशमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै सो मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगम र नेपाल सरकारसँग जोडदार माग गरेको छ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्तो कार्यले जनताको दैनिकी चल्न नसक्ने र चुलो समेत नबल्ने अवस्था सिर्जना हुन पुगेको भन्दै क्रान्तिकारीले सो मूल्यवृद्धिको विरोध गरेको हो । नेकपा क्रान्तिकारी माओवादी निकट सो विद्यार्थी संगठनले गएराति नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थहरुमा गरिएको मूल्यवृद्धिको विरोध स्वरुप एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना धारणाहरु सार्वजनिक गरेको हो ।

उता चक्रवर्ती इन्टरनेशनल कलेज र कान्तिपुर इन्टरनेशनल कलेजमा कोभिड संक्रमित भएका र नभएका एकै ठाउँमा नराखी छुट्टाछुट्टै ठाउँमा राखी परिक्षा संचालन गर्नुपर्छ भनेर विद्यार्थीले आवाज उठाउँदा विद्यार्थीमाथि प्रहरीद्वारा लाठिचार्ज भएको कार्यको पनि क्रान्तिकारीले निन्दा र भत्सर्ना गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय लगायतका विश्वविद्यालयका मातहतका कलेजहरुमा संचालन गरिने परिक्षाहरुमा कोभिड भएका र नभएका परीक्षार्थीहरुलाई छुट्टाछुट्टै राखी स्वास्थ्य मापदण्ड पालना गरि परिक्षा दिने वातावरण बनाउन र अशक्त वा विरामी परि परिक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई पुनः परिक्षाको समेत व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुसित क्रान्तिकारीले जोडदार माग गरेको छ ।

देशमा अहिले राष्ट्रियता, जनजीवन र जनजीविकाको सवाल अत्यन्त गम्भीर र जटिल बन्दै गइरहेको भन्दै भारतले नेपालको लिपुलेक क्षेत्रमा खुलमखुल्ला सडक विस्तार गरेको भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताइरहँदा नेपाल सरकार निरीह देखिएको उल्लेख गर्दै क्रान्तिकारीले भनेको छ,‘यसबाट प्रष्ट हुन्छ सरकार देशको सीमा रक्षा गर्न असक्षम भएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ‘राष्ट्रघाती’ एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन मरिहत्ते गरिरहेको आरोप लगाउँदै क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा गोलखबरलाई प्रेषित गरिएको प्रेस विज्ञप्तिमा देशमा जताततै लुट, भ्रष्टाचार, महंगी, तस्करी, बलात्कार, हत्या, हिंसा लगायतका समस्या बिकराल बनिरहेको भन्दै सरकार निकम्मा बनेको उल्लेख गरिएको छ ।

क्रान्तिकारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा दलालीकरण र माफियाकरण हावी हुँदै गएको र सरकार तिनै दलाल र माफियाहरुको चंगुलमा फस्दै गएको समेत बताइएको छ । देशमा रहेका यावत समस्या र परिस्थतिबाट वर्तमान सरकार र राजनैतिक व्यवस्था असफलसिद्ध भइसकेको पुष्टि भएको भन्दै उसले नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरि वैज्ञानिक समाजवादमा जानुपर्ने अपरिहार्यता आएको बताएको छ । नेपालमा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि तयार रहन आम विद्यार्थी, शिक्षक, युवा, मजदुर, किसान र अभिभावक लगायत जनसमुदायलाई विज्ञप्ति मार्फत् क्रान्तिकारीले अपिल गरेको छ ।

हेरौं विज्ञप्ति ⇓