• मंसिर १३ २०८१, बिहीबार

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो : निगम

माघ ४ २०७८, मंगलवार

काठमाडौँ। नेपाल आयल निगमले थप तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै निगमसँग भएको सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको हो ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको हो । भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको विज्ञप्तिमा उल्लेख छ । यो आउँदो जनवरी २३ अर्थात् माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि अपुग रकम हो । यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिती देखिएको निगमले जनाएको छ ।

पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए। मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको उनको भनाइ छ ।

आउँदो तीन महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न झण्डै १२ अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने निगमले जनाएको छ । अहिले पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास प्रति सिलिण्डर ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ । निगमका अनुसार मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।