काठमाडौं । नेपालमा दुदुइवटा क्यासिनो सञ्चालक माइक बोल्सोभरलाई आधा रातमा त्रिभुवन विमानस्थलबाट झ्यापझुप पारेर समाइएको छ । नेपाल छोडेर अमेरिका उड्न थालेका बोल्सोभरले नेपालमा क्यासिनो सञ्चालन गरेबापत सरकारलाई रु. १३ करोड राजस्व तिर्नुपर्ने बाँकी थियो ।
उनले राजस्व छलेर भाग्दै गरेको सूचना आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले उनलाई अमेरिका जानबाट रोक लगाएको थियो । बोल्सोभर एसएचएल म्यानेजमेन्ट प्रा.लि.का निमित्त प्रमुखकार्यकारी अधिकृत हुन् ।
गए राती १० बजे साउथ अमेरिका उड्न लागेका बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि उनीमाथिको थप प्रक्रिया अघि बढाइएको छ । बोल्सोभरले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा एकसाथ दुई क्यासिनो सञ्चालनमा ल्याएका छन् ।
ओसिपी एशिया एशिया प्रशान्त क्षेत्रमा मध्यम खालका व्यवसाय सञ्चालनमा सहयोबग पुर्याउने संस्था हो । यसले यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । हाल बोल्सोभरले सञ्चालनमा ल्याएका दुई क्यासिनोबाट प्रतिक्यासिनो रु. छ करोड ५० लाखका दरले रु. १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्ने राजस्व विभागले ताकेता गरेपछि अटेरी गर्दै आएका उनी अमेरिकातिर भाग्न थालेका थिए ।
मन्त्री आलेको निर्देशनपछि सञ्चालनमा रहेका अन्य आठ क्यासिनो कम्पनीले हालसम्म रु. ४० करोड राजस्व सरकारी खातामा दाखिला गरिसकेका छन् । तर बोल्सोभर सञ्चालित दुई क्यासिनोबाट दाखिला हुनु पर्ने रु. १३ करोड राजस्व अझैसम्म दाखिला भएको छैन ।
बोल्सोभरको नेतृत्वमा एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गर्दै आएको छ । सर्वोच्च अदालतले समेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न पहिल्यै नै आदेश दिइसकेको छ । यस्तो अवस्थामा सरकार र सर्वोच्चलाई छल्दै उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा आधा रातमा पक्राउ परेका हुन् ।