• मंसिर १३ २०८१, बिहीबार

बीस वर्षसम्म दावा नगरिए रकम वैंकिङ विकास कोषमा राखिने

पुष २९ २०७८, बिहीबार

काठमाडौं । वैंकमा राखिएको पैसा २० वर्षसम्म पनि दावा गर्न नआएमा उक्त रकम वैंकिङ विकास कोषमा राखिने व्यवस्था हालै आएर मात्र राष्ट्र वैंकले कार्यान्वयनमा ल्याएको छ । यो पैसा बैंकिङ विकासका काममा प्रयोग गरिने पनि राष्ट्र वैंकले जनाएको छ ।

यस्तो रकम जम्माकर्ता आफैले कमाएर बचत गरेको वा अन्य कुनै प्रयोजनका लागि बैंकमा राखेको भए पनि त्यो रकम वैंकिङ विकासमा लगाइने छ । सही वा गलत नियत जे भए पनि २० वर्षभन्दा बढी समयसम्म बैंकको खातामा रहेको पैसा लिन वा दाबी गर्न नआएमा त्यस्ता निक्षेपकर्ताको पैसा राष्ट्र बैंकले चलनमा ल्याउने भएको छ ।

बिहीबार मात्र राष्ट्र बैंकले वाणिज्य बैंकका नाममा सार्वजनिक सूचना जारी गर्दै त्यस्तो रकम निक्षेप ‘बैंकिङ विकास कोष’ मा जम्मा गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यसले ग्राहकहरुमा जुनीजुनीसम्म पनि वैंकमा पैसा जम्मा रहिरहने र स्वामित्व कायम भैरहने भन्ने पुरानो मान्यता खण्डित हुन पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३, बमोजिम यस्तो व्यवस्था लागू हुन थालेको हो । २० वर्षसम्म लिन र बुझ्न नआएका वा दाबी नपरेका यस्ता निक्षेप रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुन आउने छ । यस्तो रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको बैंकिङ विकास कोषअन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्तो कार्य गर्नका लागि सम्बन्धित वैंक तथा वित्तीय संस्थाले जिम्मेवारी लिनु पर्ने छ । यो जिम्मेवारी अनुसार बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ ।

कोषमा जम्मा गरिएको रकममाथि निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दाबी गर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।